
न्यूयोर्कको ला गार्डिया विमानस्थलमा एयर क्यानडाको विमान अग्निनियन्त्रण (फायरफाइटिङ) सवारीसँग ठोक्किँदा दुई जना पाइलटको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार आइतबार साँझ मोन्ट्रियलबाट आएको उक्त विमान अवतरणपछि करिब २४ माइल प्रतिघण्टा गतिमा अघि बढिरहेको अवस्थामा दुर्घटनामा परेको थियो । विमानमा ७२ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए ।
दुर्घटनापछि ४१ जना यात्रु तथा चालक दलका सदस्यलाई अस्पताल लगिएको छ । साथै, जमिनमा रहेको सवारीमा रहेका दुई अधिकारी पनि घाइते भएका छन् । तीमध्ये ३२ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।
न्यूयोर्क सिटी फायर डिपार्टमेन्टले सर्वसाधारणलाई ला गार्डिया विमानस्थल वरिपरि उडान रद्द, सडक बन्द, ट्राफिक जाम तथा आपतकालीन सेवाका गतिविधि बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
पोर्ट अथोरिटीकी कार्यकारी निर्देशक क्याथ्रिन गार्सियाले अनुसन्धानलाई सहज बनाउन विमानस्थल कम्तीमा स्थानीय समयअनुसार दिउँसो २:०० बजेसम्म (१८:०० जीएमटी) बन्द रहने जानकारी दिएकी छन् ।
गार्सियाका अनुसार राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)ले दुर्घटनाको सबै पक्षबारे विस्तृत अनुसन्धान गर्नेछ । उनले सञ्चारमाध्यमसँग कुरा गर्दै दुर्घटना कसरी भयो भन्ने विषयमा विस्तृत छानबिन गरिने बताएकी छन् ।
यस घटनापछि ला गार्डिया विमानस्थलबाट हुने सबै आगमन र प्रस्थान उडानहरू अर्को सूचना नभएसम्मका लागि रद्द वा ढिलाइ गरिएको छ ।
विमानस्थल बन्द हुँदा सयौं उडानहरू प्रभावित भएका छन् । यसमा अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स, साउथवेस्ट एयरलाइन्स, युनाइटेड एयरलाइन्स र एयर क्यानडा लगायतका विमान कम्पनीहरू समावेश छन् ।
विमानस्थल प्रशासनले सोमबार बिहानका केही उडानहरू भने रद्द नभई ढिलाइ भएको जनाएको छ ।
रद्द तथा ढिलाइ भएका उडानहरूको विस्तृत विवरण ला गार्डिया विमानस्थलको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ ।