२८ जेठ २०८३, बिहीबार

लुम्बिनीसामु निरीह बन्यो कोशी प्रदेश, ८ रनले शतकबाट चुके देव खनाल

चैत ९, २०८२
काठमाडौं
लुम्बिनीसामु निरीह बन्यो कोशी प्रदेश, ८ रनले शतकबाट चुके देव खनाल

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा लुम्बिनी प्रदेशसामु कोशी प्रदेश निरीह बनेको छ । 

जनकपुरमा खेलिएको उक्त खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई एक सय ४८ रनको विशाल अन्तरले हरायो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४९.३ ओभरमा अलआउट हुनुअघि दुई सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने ३१.४ ओभरमै अलआउट हुनुअघि एक सय एक रनमात्र बनाउन सक्यो ।

लुम्बिनी प्रदेशको जितमा कप्तान देव खनालले ९२ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान देवले एक सय बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए । उनले अर्का ओपनर रञ्जित खड्कासँग ८६ रनको साझेदारी गरे ।

रञ्जितले पनि टोलीको खातामा ३५ रन थपे । उनले ३६ बलमा पाँच चौका प्रहार गरे । सातौं नम्बरमा क्रिज समाल्न आएका सन्तोष यादवले पनि ४८ रनको योगदान गरे । उनले ६२ बलमा तीन चौका पनि प्रहार गरे ।

राजेन्द्र बम १६ रनमा अविजित रहे । कोशी प्रदेशका बलर सुजन थपलियाले चार विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिए । दीपेश कँडेलले पनि दुई विकेट हात पारे । विपिन महतो र प्रेम कामतले एक–एक विकेट कुम्ल्याए ।

जवाफी ब्याटिङ गरेको कोशी प्रदेशका लागि अंकित सुवेदीले सर्वाधिक ३५ रन बनाए । यसका अतिरिक्त, दीपेश कँडेल (१५ रन) र कप्तान सुजन थपलिया (११ रन)ले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

कोशी प्रदेशले अतिरिक्त रूपमा भने १७ रन पायो । लुम्बिनी प्रदेशका बलर सन्तोष यादवले चार विकेट लिए । उनले सात ओभरमा एक मेडन राख्दै केवल ११ रन खर्चिए । राजेन्द्र बमले तीन, निर्मल गुरुङले दुई र सन्देश थापाले एक विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्