
रुपन्देहीको शुद्धोदन गाउँपालिका–१ सिसै बस्ने एक महिलाको हत्या भएको छ ।
घरमै सानो पसल सञ्चालन गर्दै आएकी ६० वर्षीया रेनु पटवालाई ग्राहक बनेर आएका किशोरले हत्या गरेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
चैत २ गते चुरोट खरिद गर्न आएका १६ वर्षीय ती किशोरले धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी निसान्त श्रीवास्तवले जानकारी दिए । हत्या आरोपमा पक्राउ गरेका किशोर स्थानीय रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका किशोरले आफूले उक्त समयमा ब्राउन सुगर प्रयोग गरेको र चुरोट किन्न गएको बताएका प्रहरीले जनाएको छ ।
‘पसल खोलेपछि दुईजनाको बीचमा विवाद भयो । विवाद चर्किएपछि मृतककै पसलमा रहेको कैची झिकेर प्रहार गरेको देखिन्छ’ श्रीवास्तवले भने ।
घटनापछि विभिन्न कोणबाट अनुसन्धान गरेको प्रहरीले ती किशोरलाई चैत ७ गते नियन्त्रणमा लिएको थियो । रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अहिले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।