२० असार २०८३, शनिबार
वायुसेनाको विमान दुर्घटना

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना : ५८ सैनिकसहित ६६ जनाको मृत्यु [अपडेट]

चैत १०, २०८२
काठमाडौं
कोलम्बियामा वायुसेनाको विमान दुर्घटना : ५८ सैनिकसहित ६६ जनाको मृत्यु [अपडेट]

कोलम्बियामा भएको सैन्य विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । कोलम्बियाली अधिकारीहरूले देशको दक्षिणी भागमा उडान भरेको केही समयपछि वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा ६६ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएका छन् ।

सैन्य स्रोतले एएफपीलाई बताएअनुसार मृतकमध्ये ५८ सैनिक छन्, ६ वायुसेना कर्मचारी र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ।

रोयटर्सका अनुसार, कोलम्बियाली वायुसेना प्रमुख मेजर जनरल कार्लोस फर्नान्डो सिल्भाले विमानमा ११४ सैनिक र ११ चालक दलका सदस्य रहेको बताए ।

पेरुभियन सीमा नजिकै दक्षिणी अमेजन क्षेत्रको प्यूर्टो लेगुइजामोमा दुर्घटना भएको हो । यो सेना ढुवानीको लागि प्रयोग गरिने अमेरिकी निर्मित सी-१३० हर्कुलस विमान थियो । विमान उडेर करिब डेढ किलोमिटर पर पुग्नासाथ दुर्घटनाग्रस्त भएको थियो ।

कोलम्बियाली रक्षामन्त्रीले पेरुभियन सीमा नजिकै भएको घटनालाई देशको लागि धेरै दुखद् घटना भनेर वर्णन गरे । मन्त्रालयका अनुसार दुर्घटनापछि विमानमा आगलागी हुँदा भित्र भण्डारण गरिएको गोला बारुद विस्फोट भएको थियो ।

यो कोलम्बियाली वायुसेनाको हालैको इतिहासमा सबैभन्दा घातक दुर्घटनाहरूमध्ये एक हो । 

कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य विमान दुर्घटनामा शोक व्यक्त गरे ।

सी-१३० हर्कुलस विश्वको सबैभन्दा भरपर्दो सैन्य यातायात विमानमध्ये एक हो, जुन सेना, हतियार र राहत सामग्रीहरू पुर्‍याउन प्रयोग गरिन्छ । यो विमान कठिन र कच्चा धावनमार्गमा अवतरण गर्न सक्छ । 

यसले एक पटकमा भारी कार्गो, हेलिकप्टर, बख्तरबन्द सवारी साधन र ठूलो मात्रामा राहत सामग्रीहरू बोक्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्