
शुक्रबार हुने प्रधानमन्त्रीको शपथ समारोहमा बटुवकाट स्वस्ति वाचन र बौद्ध गुरुबाट मंगलवाचन मञ्चबाटै गराउने तयारी भएको छ ।
भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टीमका सदस्यले बुधबार राष्ट्रपति कार्यालयका अधिकारीसँग यसबारे छलफल गरेका छन् ।
राष्ट्रपति कार्यालयका एक अधिकारीले प्रधानमन्त्री कार्यालयबाट पत्र आएपछि शपथ कार्यक्रमको औपचारिक जानकारी गराइने बताए ।
‘पर्सी शुक्रबार शपथ गर्नेगरी हामीले सबै तयारी पूरा गरिसकेका छौं, मञ्च बनाउने काम पनि भइरहेको छ । तर उताबाट औपचारिक पत्र आएको छैन’, राष्ट्रपति कार्यालयका एक अधिकारीले बुधबार बेलुका लोकान्तरसँग भने ।
बालेनको टीमबाट सन्तोष गिरी र सन्तोष पाण्डे राष्ट्रपति कार्यालय पुगेका थिए । ‘बालेनको टोलीसँग शपथको प्रोटोकल लगायत विषयमा छलफल भएको छ, शपथ समारोहलाई भव्य बनाउने कुरा भयो’, ती अधिकारीले भने ।
बालेनको टीमबाट प्रस्ताव भएको १२ बजेर ३४ मिनेटको शुभसाइतमै शपथ गराउने गरी कार्यक्रम मिलाइने ती अधिकारीले बताए ।