
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । प्रतिवेदन सञ्चार माध्यममार्फत् सार्वजनिक भएपछि फेसबुकमा प्रतिक्रिया दिँदै उनले आयोग निष्पक्ष छानबिनका लागि नभएको दाबी गरेका हुन् ।
पोखरेलले कार्की आयोग र आम निर्वाचन ०८२ मा प्रयोग गरिएको ‘अल्गोरिदम’मार्फत् नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानूनी वैधानिकता दिने प्रयास भएको उल्लेख गरेका छन्। उनले सोही अनुसार निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको दाबी गरेका छन्।
उनले अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको टिप्पणी गरेका छन्। यस्तो अवस्थाले राष्ट्र र लोकतन्त्र दुवैलाई केही समय चुनौतीको सामना गर्नुपर्ने संकेत देखिएको उनको भनाइ छ।
यद्यपि, उनले ‘नयाँ शक्ति’ र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्ने बताएका छन् । तर, लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन रूपमा समाधानको बाटो नभएको र विचारधारात्मक राजनीतिको विकल्प हुन नसक्ने पोखरेलको निष्कर्ष छ। 'कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ । कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत् नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ,' उनले लेखेका छन्, 'सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ । निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर छ। अल्गोरिदमको प्रयोगवाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ- राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।'
भदौ २३ र २४ भदौको घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन बुधबार विभिन्न मिडियामार्फत् सार्वजनिक भएको थियो ।