
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बिहीबार खेलिएको खेलमा आर्मी क्लबले गण्डकी प्रदेशलाई सात विकेटको फराकिलो अन्तरले हराएको हो ।
जारी प्रतियोगितामा आर्मी क्लबको यो लगातार दोस्रो जित हो । आफ्नो पहिलो खेलमा भने आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२ रनले हराएको थियो ।
गण्डकी प्रदेशको भने यो लगातार दोस्रो हार हो । यसअघि, आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशको टोली बागमती प्रदेशसँग एक सय ७० रनले पराजित भएको थियो ।
टस जितेर पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशको टोलीले ४९.४ ओभरमा अलआउट हुनुअघि दुई सय नौ रन बनाएको थियो ।
मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले ३४ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
आर्मी क्लबको जितमा तीन ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । ओपनर तृतराज दासले ५१ रन बनाए । उनले ५१ बलमा एक छक्का र आठ चौका प्रहार गरे ।
अर्का ओपनर विनोद भण्डारीले ५८ रन जोडे । कप्तानसमेत रहेका विनोदले ५७ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काए । दुवै ओपनरले एक सय १० रनको साझेदारी गरे ।
चौथो नम्बरमा क्रिज समाल्न आएका भीम सार्कीले पनि अविजित ५४ रन बनाए । उनले ५३ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए ।
कुशल मल्लले पनि टोलीको खातामा अविजित ४३ रन थपे । पाँचौं नम्बरमा क्रिज समाल्न आएका कुशलले ४२ बलमा दुई छक्का र तीन चौका हिर्काए ।
गण्डकी प्रदेशका बलर सुवास भण्डारीले दुई र विपिन खत्रीले एक विकेट लिए । त्यसअघि, गण्डकी प्रदेशका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए ।
ओपनर अर्जुन कुमालले ६७ रन बनाए । उनले एक सय दुई बलमा एक छक्का र चार चौका प्रहार गरे । दीपक डुम्रेले पनि ४५ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ५१ रन जोडे ।
अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । आर्मीका बलर आकाश चन्द र साहब आलमले तीन/तीन तथा कुशल मल्लले दुई विकेट लिए ।