
संयुक्त राष्ट्रसङ्घले मध्यपूर्वमा युद्ध चर्किरहेका बेला इरान र त्यहाँ रहेका शरणार्थीका लागि आठ करोड डलर सहयोगको अपिल गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार इरानमा करिब २० लाख शरणार्थी छन् भने त्यहाँ ४५ लाख अफगानीसहित ठूलो आप्रवासी जनसङ्ख्या बसोबास गर्दै आएका छन् ।
यूएनएचसिआरका प्रवक्ता बाबर बलोचले द्वन्द्व बढेसँगै शरणार्थीहरू सुरक्षा, रोजगारी गुम्ने, मानसिक तनाव र आश्रय अभावजस्ता समस्यासँग जुधिरहेको बताएका छन् ।
मार्चदेखि मेसम्मका लागि तत्काल मानवीय आवश्यकता पूरा गर्न यूएनएचसिआरले द्रुत प्रतिक्रिया योजना अन्तर्गत उक्त रकम माग गरेको हो । यस योजनाबाट १८ लाख अफगान शरणार्थी, अन्य प्रभावित समूह तथा करिब १० लाख स्थानीय समुदायलाई सहयोग पुग्ने जनाइएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले इरानबाट असामान्य रूपमा मानिस बाहिरिएको नदेखिएको जनाएको छ भने रेडक्रसको अन्तर्राष्ट्रिय समितिले युद्धका कारण ऊर्जा, पानी र स्वास्थ्य पूर्वाधारमा क्षति पुगेको र मानवीय अवस्था झन् जटिल बन्दै गएको जनाएको छ ।
उसले युद्धका नियमको पालना नगरे द्वन्द्व लामो समयसम्म लम्बिन सक्ने र नागरिकले गम्भीर असर भोग्नुपर्ने चेतावनी दिएको छ ।