२३ जेठ २०८३, शनिबार
एकपछि अर्को उच्चपदस्थ पक्राउ

ओली र लेखक पक्राउ परेको भोलिपल्ट उनकै क्याबिनेटका अर्का मन्त्री पक्राउ

चैत १५, २०८२
काठमाडौं
ओली र लेखक पक्राउ परेको भोलिपल्ट उनकै क्याबिनेटका अर्का मन्त्री पक्राउ

बालेन शाहले सरकारको नेतृत्व लिएसँगै एकपछि अर्को उच्चपदस्थ व्यक्तिहरू पक्राउ पर्न थालेका छन् । शनिबार बिहान मात्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए । उनीहरूलाई जेनजी आन्दोलन घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै नियन्त्रणमा लिइएको हो ।

आइतबार बिहान फेरि ओली प्रधानमन्त्री हुँदाका मन्त्रिपरिषद्का सदस्य एवं तत्कालीन ऊर्जा मन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई भने सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले धुम्बाराहीबाट पक्राउ गरेको हो । 

ओली, लेखक र खड्कालाई पक्राउ गर्न गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निर्देशन रहेको प्रहरी मुख्यालयले जनाएको छ । गत शुक्रबार रातिदेखि नै प्रहरी मुख्यालयमा बसेर गुरुङले उच्चपदस्थ व्यक्ति पक्राउका लागि सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए । 

ओली र लेखक पक्राउ गर्न गृहबाटै प्रहरी मुख्यालयमा सर्कुलर गरिएको थियो । मुख्यालयले अपराध अनुसन्धान कार्यालय र अनुसन्धान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाएर ओली र लेखकलाई पक्राउ गर्न परिपत्र गरेको थियो । 

आइतबार बिहान धुम्बाराहीबाट पक्राउ परेका खड्काको बुढानीलकण्ठस्थित घरमा जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते घर प्रदर्शनकारीले उनको घरभित्रबाट पैसाको बिटो फालेका थिए । खड्का तिनै व्यक्ति हुन् जसले वर्षौँदेखि लैनचौरस्थित नेपाल स्काउटको जग्गा सस्तोमा लिजमा लिएर अरूलाई नै ठेक्का दिएका थिए । 

स्काउटले पटकपटक खड्काको कम्पनी खड्काल्याण्डलाई आग्रह गर्दा पनि बक्यौता रकम तिरेको थिएन । खड्काको होटल र रियलस्टेटमा करोडौँको लगानी छ । उनी कांग्रेसभित्र प्रभावशाली नेतामध्येकै पर्छन् । खड्काले चितवनको सौराहमा होटल बलाउन नदिएको भन्दै खड्काले तत्कालीन वनमन्त्री वीरेन्द्रप्रसाद महतोलाई कार्यकक्षमै पुगेर धम्क्याएका थिए ।

शनिबार पनि गृहमन्त्री गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसहित सुरक्षा निकायका उच्चपदस्थसँग ब्रिफिङ लिएका थिए । स्रोतका अनुसार नेताहरूको सम्पत्ति छानबिनका लागि सरकारले काम थालेको र सुरक्षा निकायले सक्दो सरकारको गतिविधिलाई सहयोग गर्नुपर्ने निर्देशन गृहमन्त्री गुरुङले दिएका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्