सरकारले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारको सम्पत्ति छानबिन थालेको छ । अचल सम्पत्ति प्राय: देउवापत्नी आरजु राणा र छोरा जयवीर सिंह देउवाको नाममा रहेकाले उनीहरू पनि छानबिनको दायरामा छन् ।
लोकान्तरलाई प्राप्त कागजात अनुसार पूर्वप्रधानमन्त्री देउवाको नाममा घरजग्गा छैन । उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा र छोरा जयवीर सिंह देउवाको नाममा देशका विभिन्न स्थानमा जग्गा रहेको पाइएको छ ।
दुई जनाको नाममा गरी देशभर ५८ हजार ७८६.३६ वर्गमिटर अर्थात् ११५ रोपनी ८ आना ३ पैसा ३ दाम रोपनी जग्गा रहेको देखिन्छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित ९६६ वर्गमिटर क्षेत्रफलको जग्गामा बनेको घर प्रदर्शनकारीले जलाइदिएका थिए ।
जलेको घर भत्काउन ठेक्का लागेर काम समेत शुरू भइसकेको थियो । विनोद महर्जन नामक ठेकेदारले त्यहाँको भौतिक संरचना हटाउँदै काम लाग्ने सामान लगेर ३७ लाख दिनेगरी ठेक्का लिएका थिए ।
प्रहरी उच्च स्रोतका अनुसार सरकारले घर भत्काउने कार्यमा रोक लगाउन निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरणको छानबिनकै लागि घर भत्काउन रोक लगाइएको हो ।

कुन–कुन ठाउँमा कति छ जग्गा ?
नेपाली कांग्रेसकी नेत्री तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणाको नाममा विभिन्न ठाउँमा ७ कित्ता जग्गा रहेको पाइएको छ ।
आरजुको नाममा मात्र २० हजार ३४०.९४ वर्गमिटर अर्थात ३९ रोपनी १५ आना ३ पैसा जग्गा रहेको देखिन्छ ।
२०७४ असोज ६ गते डडेलधुराको खलंगा ६ (ग) को कित्ता नम्बर ७५ को जग्गा उनको नाममा आएको देखिन्छ । डडेल्धुराको २ आना १ पैसा १ दाम (०-२-१-१) अर्थात् ७३.५२ वर्गमिटर जग्गा कायम भएको देखिन्छ ।
नारायण दत्त जैशीको नामको कित्ता नम्बर ७५को उक्त जग्गा आरजुको नाममा कायम भएको देखिन्छ ।
त्यसैगरी, २०७४ पुस ३ गते आरजुको नाममा कैलालीको धनगढी नगरपालिकाको १ हजार १० वर्ग मिटर जग्गा पारित भएको देखिन्छ । धनगढी नगरपालिका वडा नम्बर ४ को कित्ता नम्बर १११ को १ हजार १० वर्गमिटर जग्गा शारदा हमालबाट आरजुको नाममा पारित भएको हो ।
त्यसैगरी, मकवानपुरको हेटौँडा नगरपालिकाको ३३८.६३ वर्गमिटर क्षेत्रफलसहितको जग्गा आरजुको नाममा पारित भएको देखिन्छ । २०६० असार २७ गते सनउड डेभलपर्सबाट साविक हेटौँडा नगरपालिकाको वडा नम्बर ८ को कित्ता नम्बर १० हजार ३०० को जग्गा आरजुको नाममा पारित भएको देखिन्छ ।
सोही डेभलपर्सबाट सोही मितिमा साविक हेटौँडा वडा नम्बर ८ कै कित्ता नम्बर १० हजार ३०१ को ३३८.६३ वर्गमिटर क्षेत्रफल जग्गा पनि आरजुको नाममा पारित भएको देखिन्छ ।
त्यसैगरी, २०७१ वैशाख १६ गते बर्दियाको ढोडरीको वडा नम्बर ७ को कित्ता नम्बर २०८ को ६ हजार ८३५ वर्गमिटर जग्गा आरजुको नाममा कायम भएको देखिन्छ ।
गीता शर्माको नाममा रहेको उक्त जग्गा आरजुको नाममा पारित भएको देखिन्छ । त्यसैगरी, साविक ढोडरीकै कित्ता नम्बर १९१ को ३ हजार ३८० वर्गमिटर जग्गा २०५७ मंसिर २९ गते आरजुको नाममा पारित भएको देखिन्छ ।
त्यसैगरी, २०७६ मंसिर १६ गते पनि साविक ढोडरीकै कित्ता नम्बर ४९१ को ८ हजार ४३८.६ वर्गमिटर क्षेत्रफल सहितको जग्गा आरजुको नाममा कायम गरेको देखिन्छ ।
त्यसैगरी, शेरबहादुर र आरजुका छोरा जयवीर सिंह देउवाको नाममा विभिन्न कित्तामा ३८ हजार ४४५.४२ वर्गमिटर अर्थात ७५ रोपनी ९ आना १ पैसा १ दाम जग्गा रहेको पाइएको छ ।
जयवीरको नाममा २०७६ पुस ३ गते काठमाडौंको साविक चपलीको वडा नम्बर ७ को कित्ता नम्बर ४४ को ९६६ वर्गमिटर जग्गा हालसाविक गरेको पाइएको हो ।
त्यसैगरी, २०७७ चैत ४ गते कास्कीको साविक ढिकुरपोखरी वडा नम्बर ९ को कित्ता नम्बर १९१८ को १ हजार ४३ वर्गमिटर जग्गा पारित भएको देखिन्छ । साविक देवका अधिकारी समेत १ जनाको कित्ता नम्बर १९१८ पूरै भई जयवीरको नाममा पारित भएको हो ।
त्यसैगरी, २०७७ चैत ४ गते नै कास्की ढिकुरपोखरीकै कित्ता नम्बर १ हजार ९१९ को ३ रोपनी अर्थात १ हजार ५२६.२२ वर्गमिटर जग्गा पनि उनको नाममा पारित भएको देखिन्छ ।
त्यसपछि २०७८ मंसिर १२ गते कास्कीकै ढिकुरपोखरीकै कित्ता नम्बर १ हजार ९२० को ३ रोपनी अर्थात १ हजार ५२६.२२ वर्गमिटर जग्गा जयवीरको नाममा आएको देखिन्छ ।
साविक नारायणप्रसाद अधिकारी समेत एक जनाको नाममा रहेको उक्त जग्गा जयवीरको नाममा पारित भएको देखिन्छ ।
त्यसैगरी, अधिकारी समेत १ जनाको नाममा रहेको अर्को कित्ता नम्बर १ हजार ९२१ को ३ रोपनी जग्गा पनि २०७८ चैत २४ गते जयवीरको नाममा पारित भएको देखिन्छ ।
त्यसैगरी, कञ्चनपुरको कृष्णपुरको वडा नम्बर ५ को कित्ता नम्बर ३ हजार ६२० को ४ हजार ६२१ वर्गमिटर क्षेत्रफलसहितको जग्गा उनको नाममा पारित भएको देखिन्छ ।
बलबहादुर देउवा समेत १ जनाको नाममा रहेको उक्त जग्गा २०८१ माघ ८ गते जयवीरको नाममा पारित भएको हो ।
त्यसैगरी, २०८१ माघ ८ गते कृष्णपुरकै वडा नम्बर ५ को अर्को कित्ता नम्बर ३ हजार ६२२ को २ हजार १५२ वर्गमिटर जग्गा पनि जयवीरको नाममा पारित भएको देखिन्छ ।
त्यसैगरी, २०७५ चैत ६ गते बर्दिया ढोडरीको वडा नम्बर ७ को कित्ता नम्बर २०८ को ६ हजार ८३५ वर्गमिटर क्षेत्रफलको जग्गा जयवीरको नाममा पारित भएको देखिन्छ । सोही मितिमा सोही ठाउँको कित्ता नम्बर ३११ को १८ हजार २४९.४४ वर्गमिटर जग्गा पनि जयवीरको नाममा पारित भएको देखिन्छ ।
हेर्नुहोस्, भिडियो: