
मुम्बई इन्डियन्सले आफ्नो सबैभन्दा ठूलो रन चेस पूरा गर्दै १४ वर्षपछि आईपीएलमा विजयी शुरूआत गरेको छ । आइतबार राति वानखेडे स्टेडियममा भएको खेलमा टोलीले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले ४ विकेट गुमाएर २२० रन बनाएको थियो । एमआईले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य हासिल गर्यो । मुम्बईको जितमा रोहित शर्माले ७८ र रायन रिकेल्टनले ८१ रन बनाए ।
लगातार १३ सिजनसम्म पहिलो खेलमा हार बेहोरेको मुम्बईले ५१०७ दिनपछि यो खडेरी तोड्यो । मुम्बईले प्रतियोगितामा अन्तिमपटक २०१२ मा चेन्नई सुपर किंग्सलाई हराउँदै पहिलो खेल जितेको थियो । मुम्बईको सबैभन्दा राम्रो रन चेस पनि २०२१ मा सीएसकेविरुद्ध थियो, जब टोलीले २१९ रनको चेस गरेको थियो । अब, एमआईले दुवै रेकर्ड सुधार गरेको छ । मुम्बईले यसअघि १९ सिजनमध्ये पाँचौँ पटक मात्र आफ्नो पहिलो खेल जितेको छ, जसमा सन् २००९ देखि २०१२ सम्मका लगातार चार जित समावेश थिए। यो ऐतिहासिक जितसँगै मुम्बईले नयाँ सिजनको उत्साहजनक शुरूआत गरेको छ।
मुम्बईका लागि रोहित र रेयान रिकेल्टनले उत्कृष्ट शुरूआत दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ११.५ ओभरमा १४८ रनको साझेदारी गरे । रोहित र रेयानबीचको १४८ रनको साझेदारी मुम्बईका लागि आईपीएल इतिहासकै तेस्रो ठूलो साझेदारी हो ।
रोहितले ३८ बलमा ६ चौका र ६ छक्कासहित ७८ रन बनाए । उनले २३ बलमै अर्धशतक पूरा गर्दै आईपीएल करिअरकै सबैभन्दा छिटो अर्धशतक पनि बनाए । उनको यो आईपीएलको ५०औं अर्धशतक पनि हो । यसअघि उनले २०१५ को फाइनलमा चेन्नई विरुद्ध २५ बलमा अर्धशतक प्रहार गरेका थिए । रोहितले कोलकाताविरुद्ध आईपीएलमा ११६१ रन पूरा गर्दै कुनै पनि एक टोलीविरुद्ध सबैभन्दा बढी रन बनाउने ब्याटरको कीर्तिमान आफ्नो नाममा गरे । यसअघि यो रेकर्ड विराट कोहोलीको नाममा थियो, जसले पञ्जाब किंग्स विरुद्ध ११५९ रन बनाएका थिए ।
रेयानले ४३ बलमा ८ छक्का र ४ चौकासहित ८१ रनको आक्रामक पारी खेले । त्यसपछि सूर्यकुमार यादवले १६ रन, तिलक वर्माले २० रन र हार्दिक पाण्ड्याले १८ रन जोड्दै टोलीलाई जितसम्म पुर्याए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताका लागि अजिंक्य रहाणेले ४० बलमा ६७ रनको उत्कृष्ट पारी खेलेका थिए भने अंगकृष रघुवंशीले २९ बलमा ५१ रन बनाए । फिन एलनले १७ बलमा ३७ रन बनाउँदै तीव्र शुरूआत दिलाएका थिए । अन्त्यतिर रिंकू सिंहले ३३ रन जोडे । मुम्बईका लागि शार्दुल ठाकुरले ३ विकेट लिँदा हार्दिक पाण्ड्याले १ विकेट लिए । केकेआरका लागि सुनील नारायण, वैभव अरोरा र कार्तिक त्यागीले समान १–१ विकेट लिए ।