२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री कप क्रिकेट : अपराजित मधेशले कर्णालीलाई हरायो

चैत १६, २०८२
काठमाडौं
प्रधानमन्त्री कप क्रिकेट : अपराजित मधेशले कर्णालीलाई हरायो

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लगातार तेस्रो जित निकालेको छ । मधेश प्रदेशले सोमबार जनकपुरमा खेलिएको खेलमा कर्णाली प्रदेशमाथि पाँच विकेटको जित हासिल गर्‍यो ।

जारी प्रतियोगितामा मधेश प्रदेशले हालसम्म एक खेल पनि हारेको छैन । तीन खेलमा जित हात पारेको मधेश प्रदेशको एक खेल भने प्रतिकूल मौसमका कारण अनिर्णित रूपमा सकिएको थियो ।

सोमबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ३१.२ ओभरमै अलआउट हुनुअघि एक सय २९ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले २४.५ ओभरमै केवल पाँच विकेट गुमाएर एक सय ३१ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

मधेश प्रदेशको जितमा बलिङतर्फ आसिक बैठा तथा ब्याटिङतर्फ निरज यादव र अरनिको यादवले महत्वपूर्ण योगदान गरे । पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशलाई ठूलो योगफल तयार पार्नबाट रोक्ने क्रममा बैठा एक्लैले चार विकेट लिए ।

उनले १० ओभरमा एक मेडन राख्दै ३४ रन खर्चिए । विशाल पटेल र अरनिको यादवले पनि दुई/दुई विकेट हात पारे । प्रदीप पासवानले एक विकेट कुम्ल्याए । कर्णाली प्रदेशका लागि ओपनर रविन्द्र शाहीले सर्वाधिक ४० रन बनाए । अर्जुन घर्तीले पनि २४ रन जोडे ।

जवाफी ब्याटिङ गरेको मधेश प्रदेशका लागि ओपनर निरज यादवले ३८ रन बनाए । उनले ५९ बलमा पाँच चौका पनि प्रहार गरे । अर्का ओपनर मयान यादवले २२ बलमा चार चौकाको मद्दतले २४ रन जोडे । अरनिको यादवले पनि २५ बलमा ६ चौकाको मद्दतले अविजित ३२ रन बटुले ।

पवन सर्राफले पनि टोलीको खातामा १७ रन थपे । कर्णाली प्रदेशका बलर दीपेन्द्र रावतले तीन विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै ४० रन खर्चिए । दिवान पुन र प्रकाश जैसीले पनि एक/एक विकेट हात पारे । आसिक बैठा प्लेयर अफ दि म्याच घोषित भए ।

चार खेलबाट सात अंक जोडेको मधेश प्रदेश तालिकाको पहिलो स्थानमा आसीन छ । समान खेलबाट समान अंक बटुलेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ । चार खेलबाट तीन अंक जोडेको कर्णाली प्रदेश तालिकाको छैटौं स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्