२३ असार २०८३, मंगलबार

यातायात कार्यालय सानो भर्‍याङ र गुर्जुधारामा प्रहरीको छापा, १६ जना बिचौलिया पक्राउ

५३ थान ब्लूबूक बरामद
चैत १७, २०८२
काठमाडौं
यातायात कार्यालय सानो भर्‍याङ र गुर्जुधारामा प्रहरीको छापा, १६ जना बिचौलिया पक्राउ

प्रहरीले काठमाडौंका दुई यातायात कार्यालयमा छापा मारेर १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।

यातायात कार्यालय सानो भर्‍याङ र गुर्जुधाराबाट मंगलबार उनीहरूलाई पक्राउ गरिएको हो । साथै प्रहरीले ५३ थान सवारी दर्ता किताब (ब्लूबूक) बरामद गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सानो भर्‍याङस्थित कार्यालयबाट ८ जना र प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले गुर्जुधाराबाट ८ जना गरी १६ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूविरुद्ध सेवाग्राहीहरूको ब्लूबूक नवीकरण गरी दिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याएको आरोप छ ।​

सेवाग्रहीहरूलाई अनावश्यक हैरानी दिने गरेको सूचना पाएपछि प्रहरी एक्सनमा उत्रिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए । उनका अनुसार पक्राउ परेका १६ जनाबाट १ लाख १२ हजार रुपैयाँ पनि बरामद भएको छ ।

स्वयम्भू वृत्तले सानो भर्‍याङस्थित यातायात कार्यालय रौतहटका बलबहादुर सुनार, रामेछापको उमाकुण्ड गाउँपालिका– ४ का विज्ञान राई, काठमाडौंको तारकेश्वर नगरपालिका– ९ को संजय राजवाहक, नागार्जुन नगरपालिका– १ रानिवनका विमल तामाङ, रामेछापको खाँडादेवी गाउँपालिका – ७ का रमेश कार्की, कैलालीको टिकापुर नगरपालिका– ९ का सुमनप्रसाद श्रेष्ठ, नुवाकोटको बेलकोटगढी नगरपालिका– १२ का उद्धव खनाल र धादिङको निलकण्ठ नगरपालिका – ५ की कल्पना लम्साललाई नियन्त्रणमा लिएको हो ।

प्रहरी वृत्त थानकोटले गुर्जुधारास्थित यातायात कार्यालयबाट काठमाडौं महानगरपालिका– १४ कुलेश्वरका पासाङ तामाङ, काभ्रेको तेमाल गाउँपालिका –८ का सुनिल लामा, काठमाडौंको चन्द्रागिरि नगरपालिका– ६ का सुदीप मगर, धादिङको थाक्रे गाउँपालिका– ४ का बुद्ध तामाङ, अमन तामाङ, मकवानपुरको थाहा नगरपालिका– ९ का सुमेश नेपाली, बझाङको तलकोट गाउँपालिका– ४ का उज्वल सिंह र मोरङको केराबारी गाउँपालिका– ५ का दिलीप राईलाई नियन्त्रणमा लिएको एसपी भट्टराईले बताए । 

यसअघि प्रहरीले सोमबार ललितपुरस्थित यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्