३२ असार २०८३, बिहीबार
कीर्तिमानी एथलेटिक्स खेलाडी

विभागीय खेलाडीको दबदबाबीच चम्किएकी ‘सिभिलियन’ सन्तोषी

चैत १८, २०८२
काठमाडौं

कुनै पनि खेलाडीका लागि स्थानीयस्तरमा आयोजना हुने स–साना प्रतियोगितादेखि वृहत् राष्ट्रिय खेलकुद हुँदै दक्षिण एसियाली, एसियाली र ओलम्पिकसम्मको यात्रा पक्कै पनि सहज हुँदैन । नेपाली एथलेटिक्सकी कीर्तिमानी खेलाडी सन्तोषी श्रेष्ठका लागि पनि यो यात्रा निकै चुनौतीपूर्ण थियो ।

देशको संघीय राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएकी सन्तोषी सानैदेखि अध्ययनमा अब्बल थिइन् । उनको बुझाइ थियो, जुनसुकै क्षेत्रमा लागे पनि शिक्षाले मानिसलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

त्यसैले अध्ययन सधैं उनको प्राथमिकतामा पर्‍यो । उनले पब्लिक एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर गरिन् । डाइट एन्ड न्यूट्रसनमा डिप्लोमा र पब्लिक हेल्थ विषयमा स्नातक गरिन् । कुनै गैरसरकारी संस्थामा राम्रै पदमा जागिरे पनि थिइन् । तर, यी कुनै कुराले उनलाई लामो समय बाँधेर राख्न सकेन ।

उनी एथलेटिक्स खेलमा यसरी एकहोरिइन कि यो खेल नै उनको जीवनको पर्याय बन्न पुग्यो । कालान्तरमा यही खेलले उनलाई ‘कीर्तिमानी खेलाडी’, ‘ओलम्पियन’, ‘गोल्डेन गर्ल'जस्ता उपनाम पनि दियो ।

पात्रोमा सन् २०१९ सन्तोषीका लागि विशेष बनेर आयो । सोही वर्ष आयोजित वृहत् राष्ट्रिय खेलकुदमा अब्बल प्रदर्शन गर्दै उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा छनोट भइन् । त्यसपछि सोही वर्ष आयोजना भएको १३ औं सागले उनको भाग्य चम्कायो ।

त्यही प्रतियोगितामार्फत् उनी दक्षिण एसियाली खेलकुदको इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन् । यतिमात्र होइन, सागअन्तर्गत एथलेटिक्सको महिला ट्रयाक स्पर्धामा भारतीय र श्रीलंकाली खेलाडीले लामो समयदेखि कायम गर्दै आएको दबदबा पनि उनले तोडिन् ।

वास्तवमा महिला १० हजार मिटर दौडमा भारतीय प्रतिद्वन्द्वीलाई केवल एक मिलिसेकेन्डले पछि पार्दै स्वर्ण चुम्नु चानचुने उपलब्धि थिएन । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै स्वर्ण जितेर दक्षिण एसियाली खेलकुदमा हलचल मच्चाएकी सन्तोषीले कालान्तरमा एसियाड र ओलम्पिकमा समेत देशको प्रतिनिधित्व गरिन् ।

यतिबेला नेपाली एथलेटिक्समा सन्तोषी कीर्तिमानको पर्याय बन्न पुगेकी छन् । मध्यम तथा लामो दूरीकी यी धाविकाले पछिल्लो समय विभिन्न संघ–संस्थाद्वारा देशका अधिकांश स्थानमा आयोजना गरिने म्याराथनमा एकाधिपत्य जमाउँदै आएकी छन् ।

समकालीन नेपाली खेलकुदमा सक्रिय धेरै खेलाडीभन्दा उनी केही प्रसंगमा फरक पनि छिन् । यसले उनलाई नेपाली खेलकुदको ‘परम्परागत शैली’लाई ठाडै चुनौती दिन ‘विद्रोही’ खेलाडीको पंक्तिमा पनि उभ्याउँछ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्तिम तयारीमा रहेका खेलाडीलाई बन्द प्रशिक्षणका क्रममा होटेलमा राख्ने गरिन्छ । तर, उनी होटेलमा बसेरभन्दा पनि छुट्टै बसेर तयारी गर्न रुचाउँछिन् । परम्परालाई चुनौती दिएबापत बेला–बखतमा चेतावनी पनि पाउँछिन् ।

अर्कोतिर, आर्थिक पक्षलाई ध्यानमा राख्दै अधिकांश खेलाडी विभागीय टोलीमा आबद्ध हुन मरिहत्ते गर्छन् । तर, नेपाली एथलेटिक्सकी यी अद्‌भूत पात्र विभागीय टोलीहरूले पटक–पटक लोभलाग्दो प्रस्ताव दिँदासमेत ‘सिभिलियन’ खेलाडीकै रूपमा खेलजीवनलाई निरन्तरता दिन चाहन्छिन् ।

नेपाली एथलेटिक्सकी उनै कीर्तिमानी खेलाडीसँग उनको खेलजीवन र समकालीन नेपाली खेलकुदको विषयमा केन्द्रित रहेर लोकान्तरले कुराकानी गरेको छ । कुराकानीका क्रममा हामीले उनीसँग उनको खेलजीवन, पछिल्लो प्रतियोगिताको तयारी, स्थानीय प्रतियोगितादेखि ओलम्पिकसम्मको यात्राजस्ता विषयमा प्रश्न गरेका थियौं ।

यसैगरी, विभागीय टोलीमा आबद्ध नहुनुको कारण, नेपाली खेलकुदको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अनुभव, खेलाडीको विदेश पलायन, खेलकुद क्षेत्रको स्तर उकास्न सरकारले निर्वाह गर्नुपर्ने भूमिकाजस्ता विषयमा पनि प्रश्न गरेका थियौं ।

प्रस्तुत छ सन्तोषीसँग गरिएको भिडियो कुराकानी :

 

 

salt training

कमेन्ट गर्नुहोस्