कुनै पनि खेलाडीका लागि स्थानीयस्तरमा आयोजना हुने स–साना प्रतियोगितादेखि वृहत् राष्ट्रिय खेलकुद हुँदै दक्षिण एसियाली, एसियाली र ओलम्पिकसम्मको यात्रा पक्कै पनि सहज हुँदैन । नेपाली एथलेटिक्सकी कीर्तिमानी खेलाडी सन्तोषी श्रेष्ठका लागि पनि यो यात्रा निकै चुनौतीपूर्ण थियो ।
देशको संघीय राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएकी सन्तोषी सानैदेखि अध्ययनमा अब्बल थिइन् । उनको बुझाइ थियो, जुनसुकै क्षेत्रमा लागे पनि शिक्षाले मानिसलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
त्यसैले अध्ययन सधैं उनको प्राथमिकतामा पर्यो । उनले पब्लिक एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर गरिन् । डाइट एन्ड न्यूट्रसनमा डिप्लोमा र पब्लिक हेल्थ विषयमा स्नातक गरिन् । कुनै गैरसरकारी संस्थामा राम्रै पदमा जागिरे पनि थिइन् । तर, यी कुनै कुराले उनलाई लामो समय बाँधेर राख्न सकेन ।
उनी एथलेटिक्स खेलमा यसरी एकहोरिइन कि यो खेल नै उनको जीवनको पर्याय बन्न पुग्यो । कालान्तरमा यही खेलले उनलाई ‘कीर्तिमानी खेलाडी’, ‘ओलम्पियन’, ‘गोल्डेन गर्ल'जस्ता उपनाम पनि दियो ।
पात्रोमा सन् २०१९ सन्तोषीका लागि विशेष बनेर आयो । सोही वर्ष आयोजित वृहत् राष्ट्रिय खेलकुदमा अब्बल प्रदर्शन गर्दै उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा छनोट भइन् । त्यसपछि सोही वर्ष आयोजना भएको १३ औं सागले उनको भाग्य चम्कायो ।
त्यही प्रतियोगितामार्फत् उनी दक्षिण एसियाली खेलकुदको इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन् । यतिमात्र होइन, सागअन्तर्गत एथलेटिक्सको महिला ट्रयाक स्पर्धामा भारतीय र श्रीलंकाली खेलाडीले लामो समयदेखि कायम गर्दै आएको दबदबा पनि उनले तोडिन् ।
वास्तवमा महिला १० हजार मिटर दौडमा भारतीय प्रतिद्वन्द्वीलाई केवल एक मिलिसेकेन्डले पछि पार्दै स्वर्ण चुम्नु चानचुने उपलब्धि थिएन । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै स्वर्ण जितेर दक्षिण एसियाली खेलकुदमा हलचल मच्चाएकी सन्तोषीले कालान्तरमा एसियाड र ओलम्पिकमा समेत देशको प्रतिनिधित्व गरिन् ।
यतिबेला नेपाली एथलेटिक्समा सन्तोषी कीर्तिमानको पर्याय बन्न पुगेकी छन् । मध्यम तथा लामो दूरीकी यी धाविकाले पछिल्लो समय विभिन्न संघ–संस्थाद्वारा देशका अधिकांश स्थानमा आयोजना गरिने म्याराथनमा एकाधिपत्य जमाउँदै आएकी छन् ।
समकालीन नेपाली खेलकुदमा सक्रिय धेरै खेलाडीभन्दा उनी केही प्रसंगमा फरक पनि छिन् । यसले उनलाई नेपाली खेलकुदको ‘परम्परागत शैली’लाई ठाडै चुनौती दिन ‘विद्रोही’ खेलाडीको पंक्तिमा पनि उभ्याउँछ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्तिम तयारीमा रहेका खेलाडीलाई बन्द प्रशिक्षणका क्रममा होटेलमा राख्ने गरिन्छ । तर, उनी होटेलमा बसेरभन्दा पनि छुट्टै बसेर तयारी गर्न रुचाउँछिन् । परम्परालाई चुनौती दिएबापत बेला–बखतमा चेतावनी पनि पाउँछिन् ।
अर्कोतिर, आर्थिक पक्षलाई ध्यानमा राख्दै अधिकांश खेलाडी विभागीय टोलीमा आबद्ध हुन मरिहत्ते गर्छन् । तर, नेपाली एथलेटिक्सकी यी अद्भूत पात्र विभागीय टोलीहरूले पटक–पटक लोभलाग्दो प्रस्ताव दिँदासमेत ‘सिभिलियन’ खेलाडीकै रूपमा खेलजीवनलाई निरन्तरता दिन चाहन्छिन् ।
नेपाली एथलेटिक्सकी उनै कीर्तिमानी खेलाडीसँग उनको खेलजीवन र समकालीन नेपाली खेलकुदको विषयमा केन्द्रित रहेर लोकान्तरले कुराकानी गरेको छ । कुराकानीका क्रममा हामीले उनीसँग उनको खेलजीवन, पछिल्लो प्रतियोगिताको तयारी, स्थानीय प्रतियोगितादेखि ओलम्पिकसम्मको यात्राजस्ता विषयमा प्रश्न गरेका थियौं ।
यसैगरी, विभागीय टोलीमा आबद्ध नहुनुको कारण, नेपाली खेलकुदको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अनुभव, खेलाडीको विदेश पलायन, खेलकुद क्षेत्रको स्तर उकास्न सरकारले निर्वाह गर्नुपर्ने भूमिकाजस्ता विषयमा पनि प्रश्न गरेका थियौं ।
प्रस्तुत छ सन्तोषीसँग गरिएको भिडियो कुराकानी :