भोलि चैत १९ गतेदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू हुँदैछ । यस वर्षको एसईई परीक्षा व्यवस्थापन, नतिजा प्रकाशन र कार्यप्रणालीका दृष्टिले केही नयाँ अभ्याससहित सञ्चालन हुन लागेको छ । देशभरका १ हजार ९६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन् ।
परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ भने प्रश्नपत्रहरू सम्बन्धित सुरक्षा निकायका युनिटहरूमा सुरक्षित रूपमा पुयाइसकिएको छ ।
यस वर्षको एसईईमा मुख्य परिवर्तनको रूपमा परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गर्ने व्यवस्था लागू गरिएको छ । विगतमा केन्द्रीय रूपमा कपी संकलन गरेर जाँच गरिने प्रणालीलाई परिवर्तन गर्दै यसपटक परीक्षा सम्पन्न भएकै केन्द्रबाट मूल्याङ्कन प्रक्रिया अगाडि बढाउने तयारी गरिएको हो । यसले समय व्यवस्थापन सहज हुने र नतिजा छिटो सार्वजनिक गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले केन्द्रमै कपी जाँच गर्ने निर्णय नतिजा प्रकाशनलाई छिटो र व्यवस्थित बनाउन गरिएको स्पष्ट पारे । उनका अनुसार उत्तरपुस्तिका जाँचपछि शिक्षा विकास तथा समन्वय इकाइबाट लेजर निकालेर रुजु प्रक्रिया सम्पन्न गरिनेछ र त्यसपछि मात्र अन्तिम नतिजा प्रकाशन गरिनेछ ।
परीक्षा व्यवस्थापनमा सुरक्षा पक्षलाई समेत उच्च प्राथमिकता दिइएको छ । प्रश्नपत्रको गोपनीयता कायम राख्नेदेखि परीक्षा केन्द्रमा अनुशासित वातावरण सुनिश्चित गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गर्दै परीक्षा निष्पक्ष रूपमा सम्पन्न गराउने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ ।
प्रवक्ता सापकोटाका अनुसार नेपालमा लामो समयदेखि परीक्षा सञ्चालनको अनुभव, स्थानीय तहदेखि प्रदेश तहसम्मको प्रशासनिक संरचना र शिक्षा कार्यालयहरूको सक्रियताले यस नयाँ अभ्यासलाई सहज रूपमा कार्यान्वयन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
यस वर्षको एसईई परीक्षा केवल नियमित परीक्षा मात्र नभई नतिजा प्रकाशन प्रणालीमा सुधार ल्याउने उद्देश्यसहित सञ्चालन हुन लागेको छ । अब परीक्षा व्यवस्थापन कत्तिको प्रभावकारी हुन्छ र एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य कत्तिको सफल हुन्छ त्यो भने हेर्न बाँकी छ ।
हेर्नुहोस्, भिडियो :