२६ असार २०८३, शुक्रबार
प्रमुख प्रतिपक्षीको तयारी

राष्ट्रियसभा उपाध्यक्ष र उपसभामुखमा कांग्रेसको दाबी, २५ गतेभित्रै दलको नेता चयन​​

चैत २०, २०८२
काठमाडौं
राष्ट्रियसभा उपाध्यक्ष र उपसभामुखमा कांग्रेसको दाबी, २५ गतेभित्रै दलको नेता चयन​​

दोस्रो ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा दाबी गर्ने भएको छ । सभामुख पदमा उम्मेदवारी नदिएको कांग्रेसले उपसभामुखमा भने आफ्नो दाबी रहने भन्दै तयारी समेत अगाडि बढाएको छ । उपसभामुख पद प्रमुख प्रतिपक्षी दलले पाउने संवैधानिक स्पिरिट भएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले लोकान्तरलाई बताए ।

सोही स्पिरिटअनुसार उपसभामुख पदमा कांग्रेसको दाबी रहने उनको भनाइ छ । ‘म्यान्डेटअनुसार उपसभामुख पद प्रमुख प्रतिपक्षीले पाउने हो । हाम्रो त्यसमा दाबी रहन्छ,’ उनले भने ।

हाल संसद्को पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी हो । १८२ सिटको झन्डै दुईतिहाइ बहुमतसहित सत्ता रास्वपाले चलाइरहेको छ ।

रास्वपाबाट पार्टी उपसभापति डीपी अर्याल सभामुख बन्ने निश्चित भइसकेको छ । सभामुखमा अन्य कुनै दलले उम्मेदवारी नदिएपछि अर्याल निर्विरोध निर्वाचित बन्ने भएका हुन् ।

३८ सिटसहित दोस्रो स्थानमा रहेको कांग्रेसले उपसभामुख पदको दाबी प्रस्तुत गरेको हो । 

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख सम्बन्धमा व्यवस्था गरिएको छ ।

उपधारा १ मा प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

यस्तै (२) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ । सोही उपधारामा थप लेखिएको छ- ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनु पर्नेछ।’

राष्ट्रियसभा उपाध्यक्षमा पनि कांग्रेसको दाबी

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष पदमा पनि दाबी प्रस्तुत गर्ने तयारी गरेको छ । कांग्रेस राष्ट्रियसभामा पहिलो दल हो । रिक्त रहेको उक्त पदमा दाबी प्रस्तुत गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

हालसम्म नेपाली कांग्रेसले राष्ट्रियसभामा कुनै पनि पद पाएको छैन । यसअघि कृष्णप्रसाद सिटौलालाई सभाको अध्यक्ष बनाउने प्रयत्न कांग्रेसले गरेको थियो । तर, अन्तिम समयमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट धोका पाएपछि कांग्रेसले सभा अध्यक्ष पाउन सकेन । माओवादीले नारायण दाहाललाई अध्यक्ष बनाएको थियो । ‘हाम्रो दाबी राष्ट्रियसभा उपाध्यक्ष पदमा पनि रहन्छ,’ महामन्त्री पौडेलले लोकान्तरसँग भने ।

संघीय संसद् सचिवालयले यही चैत २३ चैत राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने गरी तालिका प्रकाशित गरेको छ । तालिका अनुसार चैत २२ गते आइतबार मनोनयन दर्ता गर्नुपर्नेछ । उपाध्यक्ष पद आफ्नो पक्षमा पार्न अन्य दलसँग पनि संवादको थालनी गर्ने पौडेलले जानकारी दिए ।​

ढिलामा २५ गते चयन हुनेछ संसदीय दलको नेता

नेपाली कांग्रेसले हालसम्म संसदीय दलको नेता पनि चयन गरेको छैन । प्रमुख प्रतिपक्षी दल कांग्रेसको दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत लागि परेका छन् ।

योगेश गौचन थकाली, बासना थापा, निश्कल राईजस्ता युवालाई दलको नेता बनाउनुपर्ने आवाज पनि कांग्रेस भित्र छ ।

महामन्त्री पौडेल भने ढिलोमा २५ गतेभित्र दलको नेता चयन हुने बताउँछन् । यसका लागि शनिबारबाट प्रकृया शुरू गर्ने तयारीमा पार्टी रहेको उनले बताए । ‘हामी तयारीमा छौं, २४ वा २५ गते दलको नेता छानिसक्छौं,’ उनले लोकान्तरसँग थपे ।​​

कांग्रेसभित्र दलको नेता सर्वसम्मत बनाउने पनि चर्चा छ । यद्यपि चुनावै लड्ने तयारीमा कोही पुगे कसैलाई नरोक्ने र प्रकृयाबाटै दलको नेता चयन गर्ने गरी पार्टी अगाडि बढेको महामन्त्री पौडेलले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार दलको नेता चयन भएपछि उनैले प्रमुख सचेतक र सचेतक छान्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्