
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री पोखरेलसहितको टोलीले आज भक्तपुरको सानोठिमीस्थित ती दुवै कार्यालयको अवलोकन भ्रमण गरेको हो ।
सो अवसरमा शिक्षामन्त्री पोखरेलले संस्थालाई सरकारको तर्फबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने बताए । उनले सहयोग र सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गरेर समन्वयका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।
शिक्षामन्त्री पोखरेलले भने, 'यी दुवै सरकारी संस्थाहरूलाई सरकारको तर्फबाट अझ थप सहयोग र सहकार्य हुनेछ । समझदारी कायम गरेर अगाडि बढ्न सकिन्छ छलफल गरेर अगाडि बढ्नुपर्छ ।'
शिक्षामन्त्री पोखरेलले जनक शिक्षा केन्द्रमा पुस्तक छपाइलगायत अन्य संरचनाको निरीक्षण गर्नुका साथै केन्द्रको समग्र अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा उनले समयमा नै पुस्तक छापेर विद्यार्थीको हातहातमा पुर्याउन निर्देशन दिए ।
त्यस्तै, मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको अवस्था र गतिविधिबारे जानकारी लिए । उनले गेटा अस्पताल कैलालीलाई गेटा विश्वविद्यालय सञ्चालनका लागि परेको कानूनी अड्चन फुकाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
ती दुवै निकायका पदाधिकारीले संस्थाको वस्तुस्थिति, गतिविधि र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।