
अमेरिका र इजरायलले पाँच हप्तासम्म निरन्तर १२ हजारभन्दा बढी पटक आक्रमण गरे तापनि इरानको सैन्य क्षमता अझै पूर्ण रूपमा नष्ट हुन नसकेको छैन। सीएनएनले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सार्वजनिक गरेको रिपोर्टअनुसार, इरानको लगभग ५० प्रतिशत मिसाइल लन्चर र हजारौँ आत्मघाती ड्रोनहरू अझै सुरक्षित र सञ्चालन योग्य अवस्थामा छन्।
इरानले आफ्ना धेरैजसो मिसाइल प्रणाली र लन्चरहरू जमिनमुनिका सुरुङ तथा पहाडी गुफाहरूमा लुकाएर राखेको छ। यस्ता भूमिगत संरचनाका कारण हवाई आक्रमणबाट ती हतियार जोगाउन इरान सफल भएको रिपोर्टमा उल्लेख छ । केही लन्चरहरू मोबाइल (एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने) भएकाले तिनलाई ट्र्याक गर्न र नष्ट गर्न झन् कठिन भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य उत्पादन र हतियार क्षमता लगभग ध्वस्त भइसकेको दाबी गर्दै आएका छन् । तर, गुप्तचर रिपोर्टले भने इरानसँग अझै पनि यस क्षेत्रमा गम्भीर क्षति पुर्याउन सक्ने क्षमता बाँकी रहेको देखाउँछ । ह्वाइट हाउसले भने यी रिपोर्टहरूलाई अस्वीकार गर्दै बेनामी स्रोतहरूले राष्ट्रपतिको छवि बिगार्न खोजेको आरोप लगाएको छ ।

इरानको नियमित नौसेनामा क्षति पुगे पनि 'रिभोलुसनरी गार्ड'को समुद्री शक्ति भने अझै बलियो छ । हर्मुज जलडमरू क्षेत्रमा जहाजहरूलाई अवरोध पुर्याउन सक्ने सयौँ साना डुङ्गा र क्रुज मिसाइलहरू इरानसँग सुरक्षित छन्।
इजरायलको अनुमान अनुसार केवल २० देखि २५ प्रतिशत लन्चरहरू मात्र खुल्ला रूपमा सञ्चालनमा छन्, तर सुरुङभित्र लुकाइएका हतियारको वास्तविक संख्या कसैलाई यकिन छैन । अहिले अमेरिका र इजरायलले त्यस्ता भूमिगत सुरुङका प्रवेशद्वार र हतियार आपूर्ति गर्ने मार्गहरूलाई लक्षित गरिरहेका छन्।
विज्ञहरूका अनुसार इरानसँग अझै पनि इजरायल र वरपरका क्षेत्रमा ठूलो आक्रमण गर्न पर्याप्त ब्यालिस्टिक मिसाइल, ड्रोन र रक्षात्मक संयन्त्रहरू बाँकी छन्, जसले गर्दा युद्धको जोखिम अझै टरेको छैन ।
तस्वीर : एपी