२२ जेठ २०८३, शुक्रबार
बलेको हातमा हत्कडी

सागर लम्साल 'बले'विरुद्ध अझै आएको छैन आरोप अनुसारको जाहेरी, कसरी हुँदैछ अनुसन्धान ?

चैत २४, २०८२
काठमाडौं

कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा उनीमाथि लागेको गम्भीर आरोपले कानूनी र सामाजिक वृत्तमा चर्चा बटुलिरहेका बेला प्रहरीले प्रारम्भिक अनुसन्धान शुरू गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लम्साललाई गत शुक्रबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउअघि अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत लम्सालमाथि जबरजस्ती करणीको आरोप लगाएकी थिइन् ।

युवतीले आफूहरूबीच पहिलेदेखि चिनजान रहेको र विश्वासका आधारमा भएको भेटघाटलाई दुरुपयोग गरी बलेले जबर्जस्तीकरणी गरेको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जालमा यस्तो गम्भीर आरोप सार्वजनिक भएपछि प्रहरी सक्रिय बनेको थियो । प्रहरीले तत्काल युवतीको परिवारसँग सम्पर्क गर्‍यो । परिवारकै तर्फबाट अभद्र व्यवहारसम्बन्धी उजुरी परेपछि लम्साललाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार हाल लम्सालमाथि बलात्कारसम्बन्धी कसुरमा नभई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् । लम्साल हाल भद्रकालीस्थित प्रहरी हिरासतमा छन् ।

प्रहरी स्रोतका अनुसार, पीडित भनिएकी युवती वा उनका परिवारबाट हालसम्म बलात्कारसम्बन्धी औपचारिक उजुरी दर्ता भएको छैन ।

यस्तो उजुरी प्राप्त भएमा मात्र सम्बन्धित कसुरमा थप अनुसन्धान अघि बढ्ने जनाइएको छ । तर, घटना विदेशमा भएको दाबी गरिएकाले प्रमाण संकलन, मेडिकल रिपोर्ट, घटनास्थलको विवरण तथा साक्षी संकलन जस्ता प्रक्रिया जटिल हुने देखिन्छ ।

यस घटनाले विदेशमा भएका सम्भावित अपराधमा नेपालको अनुसन्धान क्षमता र सीमाबारे पनि प्रश्न उठाएको छ । यस्ता घटनामा प्रभावकारी अनुसन्धानका लागि सम्बन्धित देशसँग समन्वय आवश्यक पर्ने विज्ञहरू बताउँछन् ।

साथै, विदेशमा रहेका नेपालीसँग सम्बन्धित अपराधका घटनामा ‘प्रहरी सहचारी’को आवश्यकता पुनः चर्चामा आएको छ ।

हाल भारतबाहेक अन्य देशमा नेपालका प्रहरी सहचारी छैनन् । अमेरिका, युरोप, खाडी मुलुक, मलेसिया, कोरिया र जापानलगायत देशमा ठूलो संख्यामा नेपाली बसोबास गर्दै आएका छन्, जहाँ विभिन्न प्रकारका अपराध र समस्या देखिने गरेका छन् ।

यदि सम्बन्धित देशमा प्रहरी सहचारीको व्यवस्था भएको भए पीडितसँग प्रत्यक्ष सम्पर्क, स्थानीय सुरक्षा निकायसँग समन्वय तथा प्रमाण संकलनजस्ता कार्यमा सहजता हुने सरोकारवालाहरूको भनाइ छ ।

नेपाल प्रहरीका उच्च अधिकारीहरूले पनि विगतदेखि नै नेपालीको उपस्थिति बढी भएका देशहरूमा प्रहरी सहचारी खटाउनुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्, तर हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्