
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावबीच गम्भीर चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत पोस्ट गर्दै इरानले अमेरिकासँग सम्झौता नगरे 'आजै एउटा सम्पूर्ण सभ्यता नै समाप्त हुन सक्छ' भनेका छन्।
ट्रम्पले आफ्नो पोस्टमा भनेका छन्, 'म यस्तो नहोस् भन्ने चाहन्छु, तर सम्भावना छ कि यस्तो हुन सक्छ,' उनले लेखेका छन्, 'अब पूर्ण र सम्पूर्ण शासन परिवर्तनपछि अझ बुद्धिमान र कम कट्टर सोच भएका व्यक्तिहरू अघि आए भने केही क्रान्तिकारी सकारात्मक परिवर्तन हुन पनि सक्छ ।'
उनले यो घटनालाई विश्व इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमध्ये एक भन्दै ४७ वर्षदेखि चल्दै आएको 'दबाब, भ्रष्टाचार र हिंसा अन्त्य हुने' दाबी गरेका छन्।
अन्त्यमा उनले 'इरानका महान जनतालाई भगवान् आशीर्वाद दिउन्' भनेका छन्।
यसबीच ट्रम्पले इरानलाई मंगलबार राति ८:०० बजे (EDT) सम्मको समयसीमा दिएका छन्, जुन नेपाली समयअनुसार बुधबार बिहान करिब ५:४५ बजे पर्छ।
उक्त समयभित्र स्ट्रेट अफ हर्मुज पुनः खोल्न उनले इरानलाई दबाब दिएका हुन्।
अहिले अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्दै गइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता थपिएको छ।