
कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा बागमती प्रदेशले सजिलो जित हासिल गरेको छ ।
जनकपुरमा खेलिएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशमाथि सात विकेटको सजिलो जित हासिल गरेको हो । जारी प्रतियोगितामा कोशी प्रदेशले हालसम्म एक जित पनि हात पार्न सकेको छैन ।
टस हारेर पहिले ब्याटिङ गरेको कोशीले २८.२ ओभरमै अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो । बागमतीले भने नौ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
पहिले ब्याटिङ गरेको कोशी प्रदेशलाई सानो योगफलमै समेट्ने क्रममा बागमती प्रदेशका प्रभावशाली लेग–स्पिनर सन्दीपले ७.२ ओभरमा ३३ रन खर्चिए ।
रिजन ढकालले दुई विकेट हात पारे । उनले पाँच ओभरमा एक मेडन राख्दै केवल १८ रन खर्चिए । प्रतिस जिसी र ईशान पाण्डेले पनि एक/एक विकेट लिए ।
कोशी प्रदेशका ब्याट्सम्यान सुजन थपलियाले सर्वाधिक २१ रन बनाए । अंकित सुवेदीले १९ रन जोडे । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
जवाफी ब्याटिङ गरेको बागमती प्रदेशका लागि विवेक मगरले अर्धशतकीय पाली खेले । उनले केवल २८ बलमा दुई छक्का र १० चौकाको मद्दतले अविजित ६१ रन बनाए ।
प्रतिस जिसी १७ रनमा अविजित रहे । कोशी प्रदेशका बलर विपिन महतोले दुई विकेट लिए । ज्ञानेन्द्र श्रेष्ठले पनि एक विकेट हात पारे ।
सन्दीप लामिछाने प्लेयर अफ दि म्याच घोषित भए ।