
साउदी अरबको एउटा महत्वपूर्ण तेल प्रशोधन केन्द्रमा इरानले ड्रोन आक्रमण गरेको खबर सार्वजनिक भइरहेकै बेला इरान र साउदी अरबका विदेशमन्त्रीहरूबीच टेलिफोन वार्ता भएको छ।
इरानी विदेश मन्त्रालयले बिहीबार बिहान टेलिग्राममार्फत दिएको जानकारी अनुसार, विदेशमन्त्री अब्बास अराघचीले आफ्ना साउदी समकक्षी प्रिन्स फैसल बिन फरहानसँग कुराकानी गरेका हुन्।
दुई मन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय घटनाक्रमका विषयमा छलफल भएको तेहरानले जनाएको छ।
यद्यपि, यो वार्ता कुन समयमा भएको हो भन्नेबारे विस्तृत जानकारी दिइएको छैन।
अर्कोतर्फ, साउदी अरबको सरकारी सञ्चारमाध्यमले बुधबार साँझ प्रिन्स फैसलले कतार, संयुक्त अरब इमिरेट्स (यूएई), जोर्डन र टर्कीका विदेशमन्त्रीहरूसँग कुराकानी गरेको उल्लेख गरे पनि इरानसँगको संवादबारे भने मौन रहेको छ।
यसैबीच, युरोपेली अन्तरिक्ष एजेन्सीले सार्वजनिक गरेको नयाँ स्याटेलाइट तस्बिरहरूमा साउदी अरामकोको महत्वपूर्ण अब्कैक तेल प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँको मुस्लो निस्किएको देखिएको छ। बुधबार बिहान इरानले गरेको ड्रोन आक्रमणका कारण उक्त केन्द्रमा आगलागी भएको बताइएको छ।
यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम घोषणा गरेको केही घण्टाभित्रै भएको हो।
अरामकोको अब्कैक केन्द्र विश्वकै ठूलो कच्चा तेल प्रशोधन केन्द्र हो। कम्पनीका अनुसार यसले विश्वको कुल तेल आपूर्तिको करिब ५ प्रतिशत हिस्सा ओगट्छ। यो केन्द्रले कच्चा तेललाई प्रशोधन गरी निर्यातका लागि योग्य बनाउँछ। इरानसँगको युद्धका कारण 'स्ट्रेट अफ हर्मुज' व्यापारका लागि अवरुद्ध भएपछि साउदीले यसै केन्द्रमार्फत 'इस्ट-वेस्ट पाइपलाइन' प्रयोग गरी तेल निर्यात गर्दै आएको थियो।