
रूपन्देही प्रहरीले क्यासिनोमा जुवा खेल्ने र खेलाउने ६ जना नेपालीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न क्यासिनोमा गरिएको छडके चेकजाँचका क्रममा तिलोत्तमा मणिग्रामस्थित सीएमजी क्यासिनो क्लबबाट जुवा खेल्ने चार जना र खेलाउने २ जनालाई पक्राउ गरेको हो । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ ।
पक्राउ पर्नेमा जुवा खेलाउने कार्यमा संलग्न सर्लाही बरहथवा नगरपालिका–८ निवासी ३१ वर्षीय मुकेशकुमार श्रेष्ठ र ललितपुर गोदावरी नगरपालिका–१५ निवासी ४१ वर्षीय अजय केसी रहेका रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
यस्तै, जुवा खेल्ने कार्यमा संलग्न बुटवल उपमहानगरपालिका–१२ निवासी ३५ वर्षीय गोविन्द शर्मा, वडा नम्बर ९ निवासी ३५ वर्षीय वासुदेव गौतम, सोही स्थानका ३५ वर्षीय कृष्ण गौतम तथा वडा नम्बर ११ निवासी ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका डिएसपी चन्दले जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले २ लाख १७ हजार २९० नेपाली रुपैयाँ, १ लाख २५ हजार आइसी, ६ थान मोबाइल र सात गड्डी ताससमेत फेला पारेको छ ।
भैरहवामा स्टार लेवलका होटलमा क्यासिनो सञ्चालनमा छन । क्यासिनोमा अवैध गतिविधि हुने गरेको गुनासो पटक–पटक सार्वजनिक हुँदै आएका छन् ।