
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वास्थ्यमन्त्री दीपक कुमार साहलाई हटाउन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सिफारिस गरेका छन् ।
बिहीबार प्रधानमन्त्री शाहलाई पत्र पठाउँदै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन भनेका छन् ।
श्रममन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमित भएको रविको भनाइ छ ।
‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारवाहीको लागि मिति २०८२ चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँदछु । यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ’, रविले लेखेको पत्रमा भनिएको छ, ‘पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु ।’
पढ्नुहोस् यो पनि - प्रधानमन्त्री बालेनले श्रममन्त्री दीपक साहलाई हटाउन लागेका हुन् ?
