सरकारले आउँदो वैशाख १५ गतेदेखि मात्र विद्यार्थी भर्ना अभियान शुरू गर्न भनेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार सबै स्थानीय तह र विद्यालयलाई परिपत्र गर्दै वैशाख १५ देखि भर्ना अभियान शुरू गर्न भनेको हो ।
केन्द्रले वैशाख २१ गतेदेखि पठनपाठन शुरू गर्न समेत भनेको छ । २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट शुरू गर्ने भन्ने नेपाल सरकार मन्त्रिपरिषद्को चैत २२ को निर्णय, साथै चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णयलाई कार्यान्वयन गर्न केन्द्रले परिपत्र गरेको छ ।
त्यसअघि शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण/तयारी, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक, शिक्षकको पेशागत क्षमता विकासका कार्य र विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्ने भनिएको छ ।
