
क्षेत्रीय बजारमा इन्धनको अभाव चर्किएसँगै भारतबाट हुने परिष्कृत डिजेलको निर्यात अस्ट्रेलियाका लागि 'सेफ्टी भल्भ' सावित भएको छ । अस्ट्रेलियाका विभिन्न स्थानमा डिजेलको अभाव र मूल्य वृद्धिको चाप परिरहेका बेला भारतीय आपूर्तिले बजारलाई सन्तुलित राख्न मद्दत पुर्याएको हो ।
रोयटर्सको पछिल्लो ढुवानी तथ्याङ्कअनुसार, मार्च महिनामा भारतको दक्षिण-पूर्वी एसियातर्फको डिजेल निर्यात सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ । मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको प्रवाहमा आएको अवरोध र चीनले परिष्कृत इन्धन निर्यातमा लगाएको प्रतिबन्धका कारण व्यापारीहरूले भारतीय बजारलाई विकल्पका रूपमा रोजेका हुन् ।
अस्ट्रेलिया आफ्नो इन्धन आवश्यकताको ९० प्रतिशतभन्दा बढी आयातमा निर्भर छ । देशको आन्तरिक प्रशोधन केन्द्रहरूले २० प्रतिशतभन्दा कम मात्र माग धान्ने गर्छन् ।
मार्च महिनामा भारतबाट दक्षिण-पूर्वी एसिया र अस्ट्रेलियातर्फ करिब १० लाख मेट्रिक टन डिजेल निर्यात भएको छ, जसमध्ये ९० प्रतिशत निर्यात 'रिलायन्स इन्डस्ट्रिज'ले गरेको समाचारमा उल्लेख छ ।
हाल अस्ट्रेलियामा करिब ३० दिनका लागि मात्र डिजेल र जेट इन्धनको भण्डारण बाँकी रहेको अवस्थामा भारतबाट आउने यी कार्गोहरूले ठूलो राहत दिने अपेक्षा गरिएको छ ।