
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले रास्वपा सभापति रवि लामिछानेको सहयोगको आश्वासनपछि उपसभामुखको उम्मेदवारी दिएको बताएका छन् ।
उपसभामुख नपाए पनि आफूहरूले असली प्रतिपक्षको भूमिका कायम राख्ने बताए ।
शुक्रबार प्रतिनिधिसभा बैठकका उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी पेस गर्दै शाहीले समावेशी सिद्धान्त अनुसार जनजाति उम्मेदवारलाई अगाडि सारेको बताएका हुन् ।
‘संसद्को ठूलो दलबाट प्रस्ताव आएपछि उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं । रास्वपा सभापतिबाटै सहयोगको आश्वासन पाएपछि उम्मेदवारी दिएका हौं’, शाहीले भने ।
यसअघि रास्वपा सभापति लामिछानेले राप्रपासँग सहकार्यको सम्भावना बाँकी रहेकाले यसलाई धोका दिएको रूपमा नबुझ्न आग्रह गरेका थिए ।
रास्वपाले श्रम संस्कृति पार्टीकी रूवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । शुक्रबार प्रतिनिधिसभाले उपसभामुख चुन्दैछ ।