
हाम्रो समाजमा जात र पेसाको पर्खाल अहिले पनि कहीँ न कहीँ छ । अझ त्यसमाथि दशक अघिसम्म त ‘बाहुनकी छोरी’ र ‘पण्डितकी बुहारी’ले जुत्ता सिलाउने काम गर्नु भनेको धेरैका लागि अचम्म र कतिपयका लागि ‘इज्जत फाल्ने’ विषय थियो ।
तर, यही सामाजिक कुचलनको पर्खाललाई भत्काएर सफलताको नयाँ शिखर चुम्ने एक साहसिक नाम हो– चम्पा नेपाल ।
विराटनगरकी चम्पा नेपाल आज एक सफल उद्यमी मात्र होइनन्, उनी हजारौं महिलाका लागि प्रेरणाको स्रोत पनि हुन् । सात हजार रूपैयाँको सानो लगानीबाट शुरू भएको उनको यात्रा आज लाखौंको कारोबार र राष्ट्रपतिबाट सम्मानित हुने तहसम्म पुगेको छ ।
चम्पाको उद्यमशील यात्रा आजभन्दा करिब डेढ दशकअघि शुरू भएको थियो । उनका श्रीमान् नेपाल विद्युत प्राधिकरणका जागिरे थिए । छोराछोरी हुर्किएपछि चम्पालाई केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्यो ।
त्यही समयमा उनले लीला कार्कीमार्फत् जुत्ता–चप्पल बनाउने १५ दिने तालिमको बारेमा थाहा पाइन् । ‘म त पण्डितको बुहारी, बाहुनकी छोरी, शुरूमा त घरमा भन्नै गाह्रो भयो’, चम्पा ती दिन सम्झिन्छिन् ।
जुत्ता सिलाउने काम, जुन परम्परागत रूपमा एउटा विशेष जातिले मात्र गर्ने भनेर समाजले बुझ्थ्यो । त्यही काम गर्छु भन्दा समाजले के भन्ला भन्ने डर उनमा थियो । तर, उनको भित्री मनले भन्यो– काम सानो वा ठूलो हुँदैन ।
उनले हिम्मत जुटाएर श्रीमान केदार नेपाललाई मनाइन् र तालिममा सहभागी भइन् । १५ दिनको तालिममा उनले यति लगावका साथ काम गरिन् कि १० दिनमै जुत्ता र चप्पल बनाउने सीप सिकिसकिन् । त्यहीँबाट उनको ‘चम्पा शु सेन्टर तथा प्रशिक्षण केन्द्र’को बीउ रोपिएको थियो ।

चम्पाले व्यवसाय शुरू गर्दा बाटो सजिलो थिएन । वरिपरि सबैले कुरा काट्थे । बाहुनकी छोरीले ‘सार्कीको काम’ गर्न थाली भनेर खिसी गर्थे । तर, चम्पालाई मानिसका कुराले भन्दा पनि आफ्नो सीपले भविष्य बदल्नु थियो ।
सबैभन्दा रोचक र मार्मिक प्रसङ्ग उनका मामाघरका हजुरबुवासँग जोडिएको छ । पण्डित्याइँ गर्ने उनका हजुरबुबाले जुत्ता छोएकोमा निकै क्रुद्ध थिए । चम्पाले घरको बरन्डामा महिला भेला पारेर जुत्ता सिलाउन सिकाउँदै गर्दा हजुरबुबा आएर हप्काउँथे– तैँले अरू काम पाइनस् ? हाम्रो कुलको इज्जत फालिस् !
तर समय सधैँ एकनास रहँदैन । जब चम्पाको सफलताका कथाहरू पत्रपत्रिकामा छापिन थाले, जब उनी टेलिभिजनमा अन्तर्वार्ता दिन थालिन्, तब तिनै हजुरबुबाको मन बदलियो ।
‘पछि त उहाँले नै पत्रिकामा मेरो फोटो देखाउँदै मेरो नातिनीले नेपालमै बसेर कति राम्रो काम गरी भन्दै गर्व गर्न थाल्नुभयो’, चम्पा सुनाउँछिन् ।

चम्पाले यो व्यवसाय मात्र सात हजार रूपैयाँबाट शुरू गरेकी थिइन् । उनीसँग पाँच हजारमा किनेको एउटा पुरानो सिलाउने मसिन थियो र दुई हजारको कच्चा पदार्थ किनेर उनले जुत्ता बनाउन थालिन् । शुरूमा सामान किन्न बजार जाँदा पसलेहरूले पनि उनलाई पत्याउँदैनथे । यस्ती महिलाले के जुत्ता बनाउली र भनेर सामान दिन पनि आनाकानी गर्थे । तर, उनले बनाएका जुत्ताको गुणस्तरले बिस्तारै बजार पाउन थाल्यो ।
विराटनगरमा हुँदा उनले ९ जनासम्मलाई रोजगारी दिइन् । आफ्नो मेहेनतले एकै महिनामा साढे सात लाख रूपैयाँसम्मको व्यापार गरेको अनुभव पनि उनीसँग छ ।

चम्पा आफू मात्र सफल भइनन्, उनले आफूले जानेको सीप देशका विभिन्न भागमा पुगेर महिलाहरूलाई सिकाएकी छिन् । पोखरा, ओखलढुङ्गा, नवलपरासी, चितवन र काठमाडौंका विभिन्न ठाउँमा पुगेर उनले हजारौं महिलालाई आत्मनिर्भर बन्न प्रेरित गरेकी छिन् ।
उनी भन्छिन्, ‘म ४० प्रकारका जुत्ता–चप्पल बनाउन र सिकाउन सक्छु । महिलाहरूले आफ्नो खुट्टामा उभिनु नै ठूलो कुरा हो ।’
उनको यो योगदानको कदर गर्दै ‘केयर नेपाल’ले उनलाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्यो । त्यति मात्र होइन, उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिन् । यी सम्मानले उनलाई समाजले हिजो गरेको तिरस्कारको उचित जवाफ दिए ।
हाल चम्पा काठमाडौंको गोठाटारमा बस्छिन् र त्यहीँबाट आफ्नो व्यवसाय र तालिम केन्द्र सञ्चालन गरिरहेकी छन् । उनले लेडिज जुत्ता–चप्पलमा विशेष दख्खल राख्छिन् । विराटनगर, इटहरी, धरान र झापाबाट उनलाई अझै पनि सामानको माग आउँछ । व्यवसायमा छोराछोरी र श्रीमानको पूर्ण सहयोगले उनलाई थप ऊर्जा दिएको छ ।

चम्पा नेपालको कथाले एउटा स्पष्ट सन्देश दिन्छ– जातीय विभेद र पेशागत संकिर्णता केवल मानिसको सोचमा मात्र हुन्छ । मानिसमा दृढ इच्छाशक्ति र मेहेनत गर्ने क्षमता छ भने, सानो भनिएको कामले पनि उसलाई विश्वसामु चिनाउन सक्छ ।
आज चम्पाको परिचय एउटा जुत्ता सिलाउने बाहुनी मात्र होइन; उनी एउटा सफल उद्यमी, कुशल प्रशिक्षक र परिवर्तनकी संवाहक हुन् । उनले सिलाएका जुत्ताले मात्र होइन; उनको साहसले आज धेरै महिलाको भविष्यको बाटो कोरिरहेको छ ।
जुत्ता सिलाउनुलाई सानो काम ठान्ने समाजका लागि उनी एउटा गतिलो उदाहरण बनेकी छिन् कि इमान्दारिता, मेहेनत र पसिनाको कुनै जात हुँदैन । उनको संघर्ष र सफलताको कथा सुन्दा जो कोहीलाई लाग्छ, साँच्चै परिवर्तन आफैंबाट शुरू गर्नुपर्छ । र, त्यसका लागि केवल हिम्मत चाहिन्छ ।