२२ असार २०८३, सोमबार

सम्पत्तिबारे गृहमन्त्रीको टिप्पणी- सरकारमा आउनुअघि विनाभ्रष्टाचार कमाउनु पाप होइन

चैत ३०, २०८२
काठमाडौं
सम्पत्तिबारे गृहमन्त्रीको टिप्पणी- सरकारमा आउनुअघि विनाभ्रष्टाचार कमाउनु पाप होइन

गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिबारे प्रश्न उठेपछि जवाफ दिएका छन् । 

उनले सरकारमा आउनुअघि विनाभ्रष्टाचार कमाउनु पाप नरहेको बताएका छन् । 

‘सरकारमा आउनुअघि विनाभ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो चेतना भया’, गृहमन्त्री गुरुङले सोमबार सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा लेखेका छन् । उक्त पोस्टको पृष्ठभूमिमा ‘के पाइस् नेपाली केरा’ भन्ने गीत राखिएको छ । 

गृहमन्त्री गुरुङले कोही ‘जन्मिँदै गरिब जन्मिनु गल्ती नभएको तर मर्दा गरिब मर्नु गल्ती’ भएको टिप्पणी समेत गरेका छन् । 

आइतबार प्रधानमन्त्री बालेनसहित सरकारका सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको थियो ।

जसअनुसार गृहमन्त्री गुरुङसँग ६१ लाख बढी रकम मौज्दात रहेको छ ।

उनीसँग लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४ सय रूपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रूपैयाँ र सानीमा बैंक लिमिटेडमा १ हजार ५७४ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् । 

यस्तै, उनले ८९ तोला सुन र ६ किलो चाँदी रहेको आफ्नो विवरणमा उल्लेख गरेका छन् ।

गृहमन्त्री गुरुङसँग १ थान गाडी समेत रहेको छ । लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ०३२ छ ४४७७ एमजी-एसफाइभ नामक कार रहेको उल्लेख छ ।

उक्त कारको मूल्य ४७ लाख ९९ हजार रहेको तथा उक्त कारको रकम व्यवसायबाट आर्जन गरेको उनले सम्पति विवरणमा उल्लेख गरेका छन् ।

गृहमन्त्री गुरुङको विभिन्न कम्पनीमा ४ करोड ३१ लाख रूपैयाँ बढीको शेयरमा लगानी रहेको छ ।

उनीसँग होप होल्डिङस प्रालिमा ३० लाख रूपैयाँको ३० हजार थान शेयर, लगुम प्रिमियम अपार्टमेन्टस प्रालिमा ५७ लाख रूपैयाँको ५७ हजार थान, धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रूपैयाँको शेयर र एडभेन्चर भिल्ला प्रालिमा ७० लाख रूपैयाँको ७० हजार थान शेयरमा लगानी रहेको छ । 

गृहमन्त्री गुरुङले ती सबै लगानीको स्रोत व्यवसाय, पैतृक सम्पत्ति र लगानी भनेर उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्