
कुटपिटबाट पर्साको वीरगञ्जमा एक प्रहरीको ज्यान गएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ श्रीपुर पछाडि रहेको एक घरमा भएको कुटपिटबाट प्रहरी जवान २७ वर्षीय विकास चौरसियाको मृत्यु भएको हो ।
पर्साको कालिकामाई गाउँपालिका-१ मुडली बस्ने चौरसियाको स्थानीयको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बस्नेतले जानकारी दिए ।
सप्तरी दरबन्दी भएका चौरसिया बिदा लिएर वीरगञ्ज आएका थिए । प्रहरीका अनुसार रड प्रहार गरेर चौरसियामाथि कुटपिट भएको थियो ।
घाइते चौरसियालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
डीएसपी बस्नेतले लोकान्तरसँग भने, ‘चौरसियाको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई नियन्त्रणमा लिएका छौं । के कारणले हत्या भयो भन्नेमा अनुसन्धानमै छौं ।’