२५ जेठ २०८३, सोमबार
नयाँ मोडमा कांग्रेस विवाद

कांग्रेसमा क्रियाशीलको लफडा : संस्थापनले खारेज गर्न खोजेको भन्दै देउवा पक्षको प्रतिवाद !

चैत ३०, २०८२
काठमाडौं
कांग्रेसमा क्रियाशीलको लफडा : संस्थापनले खारेज गर्न खोजेको भन्दै देउवा पक्षको प्रतिवाद !

२१ फागुनको निर्वाचनमा नराम्ररी पराजयको सिकार भएको नेपाली कांग्रेस यतिबेला चुनावी समीक्षा गर्न सबै प्रदेशतिर निस्किएको छ । पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारीहरू हरेक प्रदेशको मुख्य शहरहरू पुगेर भाषण तथा निर्देशन दिँदै हिँडेका छन् ।

यो टोली बुधबार मधेश प्रदेशको राजधानी जनकपुर पुगेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको घोषणा गर्न भ्याए । मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले अब नयाँ प्रणाली र नयाँ जोसका साथ सदस्यता वितरण गरिने बताए ।

कांग्रेसले भोलि अर्थात् वैशाख १ गतेदेखि देशभर 'जरा अभियान' शुरू गर्दैछ । उक्त अभियानले पार्टीको संगठनलाई वडा तहदेखि नै पुनर्गठित गर्ने लक्ष्य कांग्रेसले राखेको छ ।

अभियानका लागि हरेक जिल्ला र निर्वाचन क्षेत्रमा प्रतिनिधिहरू खटाइएको छ । वैशाख मसान्तसम्म अभियान चलाउने लक्ष्य कांग्रेसको छ । उक्त अभियानबारे पनि जानकारी दिन भ्याएका सभापति थापाले क्रियाशील सदस्यताको विषयमा बोलेका हुन् ।

'पुराना पद्धति र प्रणालीबाट बनेका सबै क्रियाशील सदस्यता निर्वाचनपछि स्वतः खारेज भइसकेका छन्,' उनले भने, 'अब वैशाख १ गतेदेखि म आफैंले आफ्नै वडाबाट नयाँ सदस्यता लिएर यो अभियानको शुरूआत गर्नेछु ।'

उनले पार्टीलाई १० लाख 'कागजी' सदस्य नभई काम गर्न सक्ने सक्रिय सदस्य चाहिएको पनि अगाडि थपेका थिए । 'हामीलाई १० लाखको सट्टा एक लाख सदस्य भए पुग्छ,' उनले भनेका थिए, 'तर ती सदस्य अनुशासित र काम गर्ने हुनुपर्छ, ताकि भविष्यमा फेरि अन्तरघातको मुख हेर्नु नपरोस् ।'

थापाको उक्त अभिव्यक्तिले अहिले कांग्रेस वृत्तको राजनीति तातिएको छ । विशेष महाधिवेशनबाट किनारामा पारिएको पुरानो संस्थापन अर्थात् शेरबहादुर देउवा समूह त्यसलाई काउन्टर दिन लागिपरेको छ ।

सभापति थापानिकट नेता तथा पदाधिकारी भने सभापतिको बचाउ गर्न लागिपरेका छन् । थापालाई काउन्टर दिन देउवा समूहबाट कार्यवाहक सभापतिकै हैसियतमा पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेका छन् ।

जबकि थापाको भनाइलाई प्रतिरक्षा गर्न विशेष महाधिवेशनबाट चुनिएका दुई महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे सामाजिक सञ्जालबाटै भए पनि लागिपरेका छन् ।

पूर्णबहादुरको चेतावनीयुक्त विज्ञप्ति

देउवा समूहले पुस २७ देखि पुस ३० सम्म विधानसम्मत भएको विशेष महाधिवेशनलाई मान्यता दिएकै छैन । अर्धन्यायिक निकाय निर्वाचन आयोगले कांग्रेस विवादमा थापा अर्थात् विशेष महाधिवेशनपक्षधरलाई नै आधिकारिकता दिएको छ । उक्त विषयलाई लिएर देउवा–कोइराला समूह सर्वोच्च अदालतको शरणमा पुगेको छ । मुद्दा दर्ता गरे पनि धेरै नेताहरूले गगन थापाको हस्ताक्षरमा टिकट लिएर २१ फागुनको निर्वाचन लडेका थिए ।

यद्यपि सभापति थापाको हस्ताक्षरमा चुनाव नलडेका नेताहरू भने विशेष महाधिवेशनलाई मान्यता दिएकै छैनन् । सोमबारमात्र विज्ञप्ति जारी गरेका खड्काले क्रियाशील खारेज गर्ने विषयमा आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।

सोमबार विज्ञप्तिमार्फत उनले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा वर्तमान कार्यसमिति नै 'तथाकथित विशेष महाधिवेशनबाट बनेको' र उसले भाषणमार्फत क्रियाशील खारेज गर्छु भन्ने विषय स्वीकार्य नभएको बताए ।

'तथाकथित विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनका लागि विधानअनुसार गरिएको क्रियाशील सदस्यता नवीकरण तथा वितरणलाई सार्वजनिक भाषणबाट खारेजीको घोषणा गरिएको कुरा सार्वजनिक सञ्चार माध्यमबाट सम्प्रेषण भएको विषयले हामीलाई आश्चर्यचकित र गम्भीर बनाएको छ,' उनले लेखेका छन् ।

विज्ञप्तिमार्फत उनले निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्थामा पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय हुन नसक्ने उल्लेख गरेका छन् ।

'यो सदस्यता त कुनै नेताको हारजीतसँग होइन, नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका शहिद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा हो,' विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा खड्काले क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्रै नभई पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा भएको भन्दै महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक आम सदस्यहरूको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न नसक्ने उल्लेख गरेका छन् ।

'निर्धारित कार्यतालिकाभित्र नवीकरण गर्न वा नयाँ लिन छुटेका सदस्यहरूको हकमा थप सुविधा दिने कुरा स्वाभाविक हुन्छ, तर २०८३ वैशाख २८ देखि ३१ गते पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रकाशित भई क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गरिएको छ । पन्ध्रौँ महाधिवेशन नै नभइकन फेरि नवीकरण गर्ने भन्ने कुरा गर्नु पूर्वाग्रही र आपत्तिजनक छ,' विज्ञप्तिमा लेखिएको छ ।

nullपूर्णबहादुरको विज्ञप्ति

सभापतिको प्रतिरक्षा गर्दै महामन्त्रीद्वय पौडेल र घिमिरे

एकातिर सभापति थापा सबै क्रियाशील खारेज गरेर नयाँ शुरूआत गर्ने भन्दै सार्वजनिक मञ्चमा बोल्दै हिँडेका छन् भने अर्कोतर्फ पार्टीभित्र असन्तुष्ट समूह त्यसको विरोधमा उत्रिएको छ । यसबिचमा महामन्त्रीद्वय पनि सभापतिको भनाइलाई बचाउ गर्दै थप स्पष्टीकरण दिन व्यस्त भएका छन् ।

महामन्त्री प्रदीप पौडेलले पार्टी क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गर्ने कार्यमा जुटेको बताए । उनले सोमबार सामाजिक सञ्जालमार्फत पार्टीले क्रियाशील खारेज गर्न नभई अद्यावधिक गर्ने बताए ।

'नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु– हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ,' उनले लेखेका छन् ।

महामन्त्री पौडेलले अब अद्यावधिक हुने क्रियाशीलले गाउँ–गाउँमा जोड्ने तथा नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरूको नवीकरणले पार्टीलाई थप जिम्मेवार र मजबुत बनाउने बताएका छन् ।

'विगतमा देखिएका त्रुटि हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौँ,' उनले लेखेका छन्, 'विद्यमान परिष्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।'

यस्तै, अर्का महामन्त्री गुरुराज घिमिरेले पनि सामाजिक सञ्जालबाटै आफ्नो धारणा राखेका छन् । असन्तुष्ट समूहले विज्ञप्ति जारी गरेपश्चात् उनले सञ्जालमा लेख्दै क्रियाशील सदस्यता खारेज नभई सुधार र अद्यावधिकको अभियान सञ्चालन गरिएको बताए ।

घिमिरेले क्रियाशील सदस्यता खारेज हुँदैछ भन्ने भ्रम फैलिएको भन्दै सदस्यता खारेज नभई यसलाई व्यवस्थित, अद्यावधिक र अझ प्रभावकारी बनाउने अभियानमा आफूहरू लागेको बताए ।

'यस अद्यावधिक प्रक्रियाले हाम्रो संगठनलाई तल्लो तहसम्म अझ सुदृढ बनाउनेछ । पार्टीप्रति प्रतिबद्ध क्रियाशील सदस्यहरूको नवीकरणले संगठनमा अनुशासन, उत्तरदायित्व र एकता झन् मजबुत बनाउने विश्वास लिएका छौँ,' उनले लेखेका छन्, 'पहिलेका अनुभवबाट सिक्दै, यसपटक हामीले प्रविधि र व्यवस्थापनमा विशेष सुधार गरेर सदस्यता प्रक्रिया अगाडि बढाएका छौँ, जसले विगतका जटिलता र अन्योललाई हटाउनेछ ।'

salt training

कमेन्ट गर्नुहोस्