
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यक्रियापश्चात मनिटरिङका लाग आईसीयूमा राखिएको छ ।
त्रिवि शिक्षण अस्पतालका अनुसार उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । सोमबार नै ओलीको पित्तथैलीको शल्यक्रिया भएको थियो ।
उनको शल्यक्रियामा नेफ्रोलोजी विभागका विभागीय प्रमुख प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. महेश राज सिग्देलको समन्वयमा जीआई सर्जरी विभागका प्रा.डा. पलेश्वा जोशी लाखे, सह प्रा.डा. विष्णु प्रसाद कँडेल र डा. दीपक शर्मा संलग्न टोली सहभागी थियो ।
शल्यक्रिया टोलीमा एनेस्थेसियोलोजीको तर्फबाट डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशी संलग्न रहेको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले आईसीयूमा उनको उपचारमा सह प्रा.डा. प्रमेश सुन्दर श्रेष्ठ र डा. हेम राज पनेरु संलग्न छन् । साथै, उपचारमा कार्डियोलोजीको तर्फबाट प्रा.डा. चन्द्रमणि पौडेल र डा. सूर्य देवकोटा संलग्न रहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका अनुसार अहिले ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले ओलीलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनी अस्पतालमै थिए ।
