२५ जेठ २०८३, सोमबार
विवादमै बितेको वर्ष २०८२

खेलकुदमा उपलब्धिभन्दा विवाद धेरै– ओलम्पिक कमिटी, एन्फादेखि क्रिकेटसम्म

चैत ३०, २०८२
काठमाडौं
खेलकुदमा उपलब्धिभन्दा विवाद धेरै– ओलम्पिक कमिटी, एन्फादेखि क्रिकेटसम्म

अबको केही घण्टापछि नै २०८२ साल हामीबाट बिदा हुँदैछ । यो वर्ष नेपाली खेलकुदका लागि मिश्रित रह्यो । अन्तर्राष्ट्रिय उपलब्धिका हिसाबले भन्दा पनि विवाद र आपसी द्वन्द्वका कारण २०८२ साल नेपाली खेलकुदका लागि बढी चर्चित बन्यो ।

यो वर्ष नेपाली खेलकुदले केही महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सफलता पनि हात पार्‍यो । यही वर्ष नेपाली क्रिकेट टोलीले लगातार दोस्रो र समग्रमा तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेल्यो । नेपालले आफूभन्दा बलियो टेस्ट राष्ट्र वेस्ट इन्डिजमाथि टी–२० क्रिकेटमा ऐतिहासिक जीत पनि हासिल गर्‍यो ।

यही अवधिमा नेपाली टोलीले दृष्टिविहीन महिला विश्वकपको फाइनलसम्म पुगेर इतिहास पनि रच्यो । महिला राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता पनि खेल्यो । वर्षको अन्त्यतिर, कीर्तिमानी खेलाडी एरिका गुरुङले डब्लूकेएफ कराँते वान प्रिमियर लिगमा रजत पदक जीतेर देशको प्रतिष्ठा बढाइन् ।

तर, यो अवधिमा नेपाली खेलकुदमा केही चर्चित विवाद पनि देखिए । यी विवादले नेपाली खेलकुदमा कहिल्यै नमेटिने घाउ लगाउने काम गर्‍यो । कहिले नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादका कारण त कहिले विभिन्न खेल संघमा देखिएको विवादका कारण नेपाली खेलकुद चर्चामा रह्यो ।

वर्षको अन्त्यतिर आइपुग्दा विवादकै कारण नेपाली फूटबल अन्तर्राष्ट्रिय निलम्बनको संघारमा उभिएको छ । खेल पदाधिकारीहरूको आपसी स्वार्थ र विवादकै कारण देशका लाखौँ खेलाडीको भविष्यसँग जोडिएको वृहत राष्ट्रिय खेलकुद समेत अवरुद्ध हुन पुग्यो ।

उसो त लामो समयदेखि नेपाली खेलकुद विवादको पर्याय बन्दै आएको छ । तर, यो वर्ष नेपाली खेलकुदलाई विवादले बढी नै गिजोल्यो ।

विवादकै कारण अहिले पनि दर्जनौँ मुद्दा न्यायालयमा चलिरहेको छ । यो वर्ष नेपाली खेलकुदमा देखिएका यस्तै केही चर्चित विवादको बारेमा यहाँ चर्चा गरिएको छ ।

००

ओलम्पिक कमिटीको विवादले ल्याएको तरंग

सरकार र आईओसीबाट मान्यताप्राप्त भनिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच लामो समयदेखि चर्किएको विवादले नेपाली खेलकुदलाई गम्भीर मोडमा पुर्‍याउने काम गर्‍यो ।

सरकारको निर्देशन र अदालतको आदेशविपरीत एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले संस्थाको विधान संशोधनसहित नयाँ निर्वाचन गराएरपछि विवाद शुरू भएको थियो । उक्त निर्वाचनबाट श्रेष्ठ तेस्रो कार्यकालका लागि एनओसी अध्यक्षमा निर्वाचित भएका थिए ।

श्रेष्ठले एनओसीको प्रचलित विधान संशोधनका लागि २०८१ मंसिर १८ गते विशेष साधारणसभा बोलाएका थिए । तर, त्यसअघि नै विशेष साधारणसभामार्फत एनओसीको विधान संशोधन गर्ने कार्यविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।

सोही रिट निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनले ‘प्रस्तावित विधान संशोधनको एजेन्डाउपर प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाइ नहुँदासम्म कुनै छलफल तथा निर्णय नगर्नु/ नगराउनु, यथास्थितिमा राख्नु’ भनी एनओसीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत पाटनले मंसिर १७ गते नै अन्तरिम आदेश जारी गरेपछि राष्ट्रिय खेलकुद परिषद्ले पनि एनओसीलाई विशेष साधारणसभा तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको थियो । एनओसीले भने आफ्नो विशेष साधारणसभा स्थगति गरेन ।

बरु, विशेष साधारणसभामार्फत आफ्नो विधान नै संशोधन गर्‍यो । विशेष साधारणसभाले एनओसी पदाधिकारीहरूको कार्यकालसम्बन्धी प्रावधानलाई संशोधन गरेको थियो । विशेष साधारणसभाले अध्यक्ष र महासचिवको कार्यकाल अवधि थपसहित अन्य बुँदामा पनि संशोधन गरेको थियो ।

संशोधित विधानमा, अध्यक्ष र महासचिवले लगातार चारपटकसम्म उम्मेदवार बन्न पाउने प्रावधान राखियो । संशोधन गरिनुअघि एनओसीको विधानले अध्यक्ष, महासचिवलगायत कार्यसमितिका सदस्यलाई लगातार दुई कार्यकालपछि पुन: सोही पदमा निर्वाचित हुन अनुमति दिएको थिएन ।

null

त्यतिबेलासम्म अध्यक्ष श्रेष्ठ दुई कार्यकाल एनओसीको अध्यक्ष भइसकेका थिए । विशेष साधारणसभाले कार्यसमितिमा उम्मेदबार बन्न आवश्यक उमेरको हदसम्बन्धी प्रावधानमा पनि संशोधन गरेको थियो ।

त्यसअघि ७० वर्ष उमेर पुगेका व्यक्तिले एनओसीको निर्वाचनमा उम्मेद्वार बन्न पाउँथेनन् । त्यो प्रावधानलाई संशोधन गरी एनओसी निर्वाचनमा उम्मेदबार बन्न उमेरको हद बढाएर ७५ वर्ष पुर्‍याइएको थियो ।

अदालतको आदेश र राखेपको निर्देशनलाई बेवास्ता गर्दै विशेष साधारणसभा गरेर विधान संशोधन गरेपछि रिट दायर गर्ने खेल संघका पदाधिकारीहरूले अदालतको मानहानी भएको भन्दै उच्च अदालत पाटनमा अर्को मुद्दा दायर गरे । अदालतको अपहेलनाको मुद्दा दर्ता भएलगत्तै उच्च अदालत पाटनले एनओसीको नाममा कारण देखाऊ आदेश पनि जारी गरेको थियो ।

त्यसपछि उच्च अदालत पाटनको आदेश र राखेपको निर्देशनविपरीत २०८१ पुस १३ गते सम्पन्न गर्ने गरी एनओसी निर्वाचनको मिति घोषणा गरिएको थियो । एनओसी पदाधिकारीको यो कदमले विवादलाई थप पेचिलो बनाएको थियो ।

श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटी निर्वाचन प्रक्रियालाई निरन्तरता दिने अभियानमा लागेपछि कमलबहादुर चित्रकारले पुस ९ गते सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता गराएका थिए । सो रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले पुस ११ गते नेपाल ओलम्पिक कमिटीको निर्वाचनलगायतका कुनै पनि कार्य नगर्नु–नगराउनु भनी अन्तरिम आदेश पनि जारी गरेको थियो ।

अर्कोतिर, युवा तथा खेलकुद मन्त्रालयले पनि एनओसीको निर्वाचन रोक्न पुस ७ गते गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । अदालतको आदेश र राखेपको निर्देशनविपरीत ओलम्पिक कमिटीको निर्वाचन हुन लागेको भन्दै निर्वाचन रोक्न आग्रहसहित युवा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

यसरी, निर्वाचन रोक्न प्रहरी परिचालन भएपछि एनओसीले अलनाइनमार्फत नै मतदान गरेर आफ्नो निर्वाचन प्रक्रिया सम्पन्न भएको जानकारी गराएको थियो । त्यसको केही समयपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि एनओसी निर्वाचनलाई मान्यता दिएको थियो ।

सरकारले भने हालसम्म पनि एनओसीको उक्त निर्वाचनलाई मान्यता दिएको छैन । बरु सरकारले ध्रुवबहादुर प्रधानको संयोजकत्वमा एनओसीको छुट्टै तदर्थ समिति बनाएको थियो । यो विवाद अहिलेसम्म समाधान भएको छैन ।  

००

विवादका कारण निलम्बनको संघारमा पुगेको नेपाली फूटबल

सरकार र अखिल नेपाल फूटबल संघ (एन्फा)बीच देखिएको विवादका कारण यतिबेला नेपाली फूटबल अन्तर्राष्ट्रिय निलम्बनको संघारमा उभिएको छ । एन्फा राष्ट्रिय लिग बीचमै रोकिएको छ । शहीद स्मारक महिला लिग पनि शुरू भएलगत्तै स्थगित गरिएको छ ।

विवादकै कारण नेपाल र हङ्कङको पुरुष राष्ट्रिय टोलीबीच दशरथ रंगशालामा हुने भनिएको खेल पनि रद्द भयो । फूटबलका अन्य गतिविधि पनि शून्य अवस्थामा पुगेका छन् । नेपाली राष्ट्रिय महिला टोली थाइल्यान्डमा आयोजना हुने फिफा सिरिज खेल्ने अवसरबाट पनि वञ्चित भयो ।

यसरी पछिल्लो समय नेपाली फूटबलले एकपछि अर्को दु:खद क्षणको सामना गर्नु परिरहेको छ । समग्रमा, यतिबेला नेपाली फूटबल इतिहासकै सबैभन्दा निराशाजनक मोडमा उभिएको छ । सरकार र एन्फाबीच चर्किएको पछिल्लो द्वन्द्वको सबैभन्दा ठूलो मार भने खेलाडीलाई परेको छ ।

नेपाली फूटबलमा विवाद नौलो विषय होइन । कहिले आर्थिक अनियमितताको रोइलो त कहिले विदेश जान खेलाडीभन्दा बढी खेल पदाधिकारीको ओइरो । कहिले खेलाडीले पुरस्कार नपाएको विवाद त कहिले कार्यसमितिका पदाधिकारीबीच नै लज्जास्पद आरोप–प्रत्यारोप ।

त्यसमाथि थपिएको, श्रम स्वीकृति नलिई पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई विभिन्न घरेलु प्रतियोगिता खेलाएको अर्को विवाद । घरेलु फूटबलको मेरुदण्डका रूपमा रहेको शहीद स्मारक लिग तीन वर्षदेखि सञ्चालन हुन नसकेको विवाद त आफ्नो ठाउँमा छँदैछ ।

तर, यो हदसम्मको विवाद भने यसअघि भएको थिएन । पछिल्लो विवादको शुरूवात वर्तमान एन्फा नेतृत्वको ‘अर्ली इलेक्सन’ मा जाने एकतर्फी अडानबाट शुरू भएको हो । एन्फाको अघिल्लो निर्वाचन २०७९ असार ६ गते भएको थियो ।

त्यस आधारमा एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ साल असार ६ गते सकिँदै छ । तर, वर्तमान एन्फा नेतृत्वले निर्धारित समयभन्दा अगावै अर्को निर्वाचन गर्ने निर्णय लियो । त्यो पनि जिल्ला र प्रदेश फूटबल संघको निर्वाचन नै नगरी ।

तर, एन्फाकै केही पदाधिकारी ‘अर्ली इलेक्सन’ को विपक्षमा उभिए । एन्फा विधानमा ‘अर्ली इलेक्सन’ को प्रावधान नै नरहेको उनीहरूको दाबी थियो । यसका अतिरिक्त, उनीहरू पहिले जिल्ला र प्रदेशको निर्वाचन गरेर मात्र केन्द्रको निर्वाचनमा जानु पर्ने अडानमा थिए ।

null

अर्कोतिर, राखेपले पनि एन्फा नेतृत्वलाई जिल्ला र प्रदेशको निर्वाचन गरेरमात्र केन्द्रको निर्वाचन गर्न निर्देशन दियो । तर, एन्फा आफ्नो जिद्दीमा कायमै रह्यो । एन्फा नेतृत्वले चैत १३ गते झापामा जसरी पनि एन्फाको निर्वाचन गराउने अडान लियो ।

पटक–पटक आफ्नो निर्देशनको अवाज्ञा गरेपछि चैत ११ गते बसेको राखेप कार्यकारी समितिको बैठकले वर्तमान एन्फा कार्यसमितिलाई तीन महिनाका लागि निलम्बन गर्ने अप्रिय निर्णय लियो । निलम्बनमा परेलगत्तै एन्फा नेतृत्वले आफ्नो निर्वाचन पनि स्थगित गर्‍यो ।

‘अर्ली इलेक्सन’को निर्णयबाट शुरू भएको एन्फा विवाद हालको स्थितिसम्म आइपुग्दा त्यसले खेलाडीसँगै समग्र नेपाली फूटबललाई नै ‘गतिहिन’ अवस्थामा पुर्‍याएको छ । यतिबेला न निलम्बनमा परेको एन्फा कार्यसमितिले काम गर्ने अवस्था छ, न त सरकारी पक्षले नै एन्फा सञ्चालनको कुनै संयन्त्र तयार पारेको छ ।

यसैबीच, विश्व फूटबल महासंघ (फिफा) ले स्थगित भएकै स्थानबाट निर्वाचनको प्रक्रिया अघि बढाउन एन्फामार्फत नेपाल सरकारलाई पत्र पठाएको छ । सरकारी हस्तक्षेप भए नेपाली फूटबललाई निलम्बन गर्ने संकेत पनि फिफाले दिएको छ ।

अर्कोतिर, राखेपले पनि फिफालाई वर्तमान नेपाली फूटबलको अवस्था र एन्फा पदाधिकारीहरूको गतिविधिको बारेमा स्पष्ट पार्दै फिफालाई पत्राचार गरेको छ ।

राखेपले फिफालाई छुट्टाछुट्टै दुई पत्र पठाएको हो । राखेपले एउटा पत्र एन्फामार्फत र अर्को पत्र सिधै फिफालाई पठाएको हो । तर, हालसम्म फिफाबाट त्यसको कुनै जवाफ आएको छैन । त्यसैले यतिबेला नेपाली फूटबल संकटपूर्ण अवस्थामा छ ।

००

खेल पदाधिकारीको स्वार्थको मारमा परेको वृहत् राष्ट्रिय खेलकुद

यो वर्ष वृहत् राष्ट्रिय खेलकुदको १०औँ संस्करण राजनीतिक खिचातानी र खेल पदाधिकारीहरूको स्वार्थको मारमा पर्‍यो । घरेलु खेलकुदको मेरुदण्डका रुपमा रहेको वृहत् राष्ट्रिय खेलकुद स्थगित हुँदा देशभरका लाखौँ खेलाडी मारमा परे ।

यसै वर्ष आयोजना हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद विभिन्न कारणले पटक–पटक स्थगित भयो । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुद कहिले अपर्याप्त भौतिक पूर्वाधारको नाममा त कहिले राखेप र प्रदेश खेलकुदमा आफू अनुकूलको पदाधिकारी नभएका कारण स्थगित गरियो ।

पछिल्लो पटक १०औँ राष्ट्रिय खेलकुद फागुनमा आयोजना हुने भनिएको थियो । तर, जेन जी पुस्ताको प्रदर्शनसँगै राष्ट्रिय राजनीतिमा विकसित घटनाक्रमले प्रतियोगिता यो वर्ष आयोजना हुने सम्भावना समाप्त भयो । फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचन पनि यसमा तगारो बन्यो ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अधिकांश पूर्वाधार तयार भइसकेकाले १०औँ आयोजना गर्न यो रकम पर्याप्त पनि थियो ।

त्यसअघि, पनि विभिन्न कारण देखाउँदै पटक–पटक १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति परिवर्तन भएको थियो । पछिल्लोपटक स्थगित भएपछि घरेलु ‘ओलम्पिक’का रूपमा परिचित वृहत् राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मितिसमेत सार्वजनिक हुन सकेको छैन ।

हालसम्म चारपटक प्रतियोगिताको मिति परिवर्तन भइसकेको छ । २०७९ साल कात्तिकमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णाली प्रदेशलाई १०औँ राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरिएको थियो । राखेपको ११५औँ बोर्ड बैठकले प्रतियोगिता २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्नेगरी मिति पनि तोकेको थियो ।

null

तर, अन्तिम समयमा आएर तयारीका लागि समय अपर्याप्त भएको कारण देखाउँदै राखेपको ११८औँ बोर्ड बैठकले प्रतियोगिता २०८१ साल चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने गरी मिति परिवर्तन गरेको थियो । तर, दोस्रोपटक तय गरिएको मितिमा पनि प्रतियोगिता आयोजना हुन सकेन । 

त्यसपछि, २०८१ फागुन १५ गते बसेको राखेपको १२१औँ बोर्ड बैठकले तेस्रोपटक मिति परिवर्तन गरेर १०औँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । तर, त्यो मितिमा पनि प्रतियोगिता आयोजना हुन सकेन ।  

२०८१ चैत २९ गते बसेको राखेपको १२२औँ बोर्ड बैठकले जेठमा पनि राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिने निष्कर्ष निकाल्यो । उक्त बोर्ड बैठकले प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने निर्णय त गर्‍यो तर, नयाँ मिति भने घोषणा गरेन । सोही कारणले राष्ट्रिय खेलकुदलाई लिएर झनै अन्यौल बढ्दै आएको थियो ।

जेठमा प्रतियोगिता आयोजना हुन नसक्नुको मुख्य कारण थियो, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङबीच देखिएको असहज सम्बन्ध । मन्त्री चौधरी नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका थिए भने घिसिङ नेकपा माओवादी केन्द्र सरकारमा हुँदा राखेपको सदस्यसचिव बनेका थिए ।

त्यसैले, मन्त्री चौधरी राखेप सदस्यसचिव घिसिङको कार्यकाल सकिएपछि मात्र १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने योजनामा थिए । सोही कारणले तत्कालीन प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद आयोजना गर्न पटक–पटक निर्देशन दिँदासमेत राखेपको बोर्ड बैठकसमेत बस्न सकेको थिएन । सदस्यसचिवको पदावधि आगामी मंसिर दोस्रो साता समाप्त भयो ।

अर्कोतिर, लामो समयदेखि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवसहित अधिकांश पद पनि रिक्त थियो । गत २०८१ पुस ६ गते सदस्यसचिव विश्वामित्र सञ्ज्यालको पदावधि समाप्त भएको थियो । उपाध्यक्ष प्रमोद हमालको कार्यकाल पनि सञ्ज्यालसँगै सकिएको थियो । त्यसपछि कर्णाली प्रदेश खेलकुद विकास परिषदमा नयाँ सदस्यसचिव नियुक्त हुन सकेको थिएन ।

००   

अन्य खेल संघभित्र विवादै–विवाद, क्रिकेट पनि छैन अछुतो

निस्वार्थ भावले खेलकुद क्षेत्रको विकासमा सक्रिय हुने पवित्र उद्देश्यसहित स्थापित भएका अन्य खेल संघका पदाधिकारीबीच पनि यो वर्ष निकै विवाद देखियो । विवादकै कारण कतिपय खेल संघका पदाधिकारीले पक्ष–बिपक्ष बनेर न्यायालय धाउन पनि बाध्य भए ।

खेल संघहरूभित्र विवाद निम्त्याउन राखेप र नेपाल ओलम्पिक कमिटीको भूमिका पनि उत्तिकै रह्यो । ब्याडमिन्टन, टेबलटेनिस, पौडी, कुश्तीलगायतका स्थापित र चर्चित खेल पनि विवादबाट मुक्त रहेनन् । खेल संघका पदाधिकारीहरू खेलकुद क्षेत्र र खेलाडीको विकासभन्दा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राप्त भन्दै आ–आफ्नै डम्फु बजाउन व्यस्त रहे ।

लामो समयको निलम्बन फुकुवापछि लयमा फर्कँदै गरेको नतिजामुखी खेल क्रिकेटमा पनि यो वर्ष पुन: विवादको स्वर सुनियो । फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब–किताबको विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरू दुई समूहमा विभाजित भए ।

null

क्रिकेटको विवाद अख्तियार अनुसन्धान आयोगसम्म पनि पुग्यो । क्यानका उपाध्यक्ष रोशन सिंहलगायतका पदाधिकारीले पहिलो संस्करणदेखि नै एनपीएलको विस्तृत हिसाब–किताब सार्वजनिक गरिनुपर्ने माग राख्दै आएका थिए ।

विवादबीच नै २०८२ सालमा एनपीएलको दोस्रो संस्करण पनि सम्पन्न भयो । दोस्रो संस्करण समाप्त भएपछि पनि सिंहलगायतका पदाधिकारीले आफ्नो माग कायमै राखे । सोही कारणले गर्दा वर्षको अन्त्यतिर, बस्ने भनिएको क्यानको बैठकसमेत प्रभावित भयो ।

असन्तुष्ट पक्षले बहिष्कार गरेपछि पहिलो दिन कोरम नपुगेर बैठक नै बस्न सकेन । त्यसपछि अर्को दिनका लागि बैठक सारियो ।

त्यो बैठक पनि असन्तुष्ट पक्षले बहिष्कार गर्‍यो । तर, बल्ल–तल्ल कोरम पुर्‍याएर बैठक सम्पन्न गरियो । यसरी वर्षको अन्त्यतिर आइपुग्दा नेपालको नतिजामुखी खेल क्रिकेटमा पनि विवाद देखिन थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्