०१ असार २०८३, सोमबार

दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

चैत ३०, २०८२
काठमाडौं
दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकामा गिट्टी, बालुवा, ढुङ्गा तथा ग्राभेल उत्खनन् ठेक्कामा अनियमितता गरी २२ लाख रूपैयाँभन्दा बढी राजस्व हिनामिना गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य र आर.के. कन्स्ट्रक्सनका सञ्चालक सुवास कार्कीविरुद्ध आयोगले सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ३० हजार घनमिटर गिट्टी, बालुवा, ढुङ्गा र ग्राभेल उत्खनन्, संकलन तथा बिक्रीका लागि न्यूनतम् १६ लाख ६० हजार रूपैयाँमा ठेक्का आह्वान गरिएको थियो । उक्त ठेक्कामा आर.के. कन्स्ट्रक्सनले ३० लाख ५० हजार रूपैयाँ कबोल गरेको थियो ।

तर सम्झौताअनुसार कबोल रकम र १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित ३४ लाख ४६ हजार ५०० रूपैयाँ बुझाउनुपर्नेमा किस्ताबन्दी सर्त राख्दै बैंक जमानतसमेत नलिई सम्झौता गरिएको र केवल १२ लाख २ हजार रूपैयाँ मात्र दाखिला गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् । 

यसरी बाँकी २२ लाख ४४ हजार ५०० रूपैयाँ राजस्व नबुझाइ गाउँपालिका र नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याइएको ठहर गरिएको छ ।

आयोगले उक्त रकम बिगो कायम गर्दै दुवै जनाविरुद्ध कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता न्यौपानेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्