
एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरू, गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।
सञ्चालनमा आएको अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।
यसका लागि ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसरी ग्राहकहरूले बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।
सूचना अधिकारी रावलका अनुसार बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैरबैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरू र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा खरिद गर्न इच्छुक ग्राहक महानुभावहरूले अनलाइन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै बिक्री हुने सम्पत्तिहरूको विस्तृत विवरणहरू सहितको जानकारी लिई लाभ लिन सक्नेछन् ।