
मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव छ । यसैको प्रभावले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा सुदूरपश्चिमका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा अन्य हिमाली र पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश कोशी, बागमती र गण्डकीका तराईका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना छ ।
यसैगरी, मधेश र लुम्बिनीका तराई भागका थोरै स्थानमा मध्यम तातो लहर चल्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मी बढ्ने सम्भावना छ ।
आज राति कोशीका थोरै स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली का हिमाली तथा पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ ।
बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा तापक्रम बढ्ने भएकाले आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
तातो लहरको प्रभावबाट बच्न दिउँसो सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ ।