
नेपालमा अहिले एकैसाथ तीन वटा मौसमी प्रणालीको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाका कारण मौसममा फेरबदल आएको हो ।
यो मौसमी प्रणालीका कारण अहिले पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो देशभरको मौसममा बदली भई धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकीका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने देखिन्छ।
यसै गरी मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यही प्रणालीका कारण देशका तराई र पहाडी भू–भागका केही स्थानमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।
रातिको समयमा भने मौसममा केही सुधार आउने भए पनि केही स्थानमा वर्षा र हिमपात जारी रहनेछ। आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
त्यसै गरी कोशी, बागमती र लुम्बिनीका हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। वर्षा, चट्याङ्ग र हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।