०८ साउन २०८३, शुक्रबार
पश्चिम एसियामा शान्तिको आशा

इजरायल र लेबनानबीचको दुर्लभ वाशिङ्टन वार्ता, जसले सम्भव बनायो १० दिने युद्धविराम

बैशाख ४, २०८३
काठमाडौं
इजरायल र लेबनानबीचको दुर्लभ वाशिङ्टन वार्ता, जसले सम्भव बनायो १० दिने युद्धविराम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच १० दिने युद्धविराममा सहमति भएको घोषणा गरेका छन् । उक्त युद्धविराम अप्रिल १६ तारिख स्थानीय समयअनुसार मध्यरातदेखि लागू भएको हो ।

ट्रम्पको प्रारम्भिक वक्तव्यमा इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाहको उल्लेख गरिएको थिएन, जससँग इजरायलले पछिल्ला ६ सातादेखि निरन्तर द्वन्द्व गरिरहेको छ ।

तर, पछि सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा उनले हिजबुल्लाहलाई युद्धविरामको पालना गर्न आग्रह गर्दै यो महत्वपूर्ण समयमा सकारात्मक व्यवहार गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

घोषणापछि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र लेबनानी राष्ट्रपति जोसेफ आउनलाई थप कूटनीतिक वार्ताका लागि ह्वाइट हाउसमा आउन निम्तो दिएका छन् ।

युद्धविरामका प्रमुख शर्त

सम्झौताअनुसार युद्धविराम १० दिनसम्म कायम रहनेछ । वार्तामा प्रगति भएमा आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार:

इजरायलले आत्मरक्षाका लागि आवश्यक कदम चाल्ने अधिकार सुरक्षित राख्नेछ ।

लेबनानले हिजबुल्लाहसहित गैर-राज्य सशस्त्र समूहहरूलाई इजरायलमाथि आक्रमण गर्नबाट रोक्न प्रभावकारी कदम चाल्नुपर्नेछ ।

लेबनानको सुरक्षा जिम्मेवारी सरकारी सुरक्षा निकायमै सीमित रहनेछ ।

बाँकी मुद्दा समाधानका लागि अमेरिकामार्फत प्रत्यक्ष संवाद जारी रहनेछ ।

यो युद्धविरामलाई इजरायलले 'सद्भावको संकेत'का रूपमा अघि सारेको र दीर्घकालीन शान्ति सम्झौताका लागि वातावरण बनाउने उद्देश्य राखिएको बताइएको छ ।

विभिन्न पक्षको प्रतिक्रिया

इजरायल र लेबनान दुवै देशका नेतृत्वले युद्धविरामको स्वागत गरेका छन् । नेतन्याहुले यसलाई ऐतिहासिक शान्ति सम्झौताका लागि अवसर भनेका छन् ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले युद्धका कारण विस्थापित नागरिकहरू घर फर्कन सक्ने अपेक्षा व्यक्त गरेका छन् ।

हिजबुल्लाहले पनि युद्धविरामप्रति सकारात्मक संकेत दिएको छ । तर, उसले देशभरि आक्रमण पूर्ण रूपमा रोक्नुपर्ने र इजरायली सेनाको आवतजावतमा नियन्त्रण हुनुपर्ने शर्त अघि सारेको छ ।

इरानले पनि युद्धविरामको स्वागत गर्दै लेबनानप्रति ऐक्यबद्धता जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धविराममा अमेरिकाको भूमिकाको प्रशंसा गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले यसलाई राहतपूर्ण कदम भन्दै लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न जोड दिएकी छन् ।

‘बफर जोन’ विवाद

सम्झौतापछि पनि इजरायलले दक्षिण लेबनानमा करिब १० किलोमिटर क्षेत्रलाई ‘सुरक्षा क्षेत्र’ का रूपमा कायम राख्ने जनाएको छ । 

नेतन्याहुले उक्त क्षेत्र आक्रमणको जोखिम नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

यस हप्ता वाशिङ्टनमा इजरायल र लेबनानबीच दुर्लभ प्रत्यक्ष वार्ता भएको थियो ।

ट्रम्पका अनुसार आउन र नेतन्याहुसँगको सकारात्मक संवादपछि युद्धविराम सम्भव भएको हो । तर हिजबुल्लाह वार्तामा प्रत्यक्ष सहभागी थियो वा थिएन भन्ने स्पष्ट छैन ।

इरानसँगको द्वन्द्वसँग सम्बन्ध

इरानसँगको युद्धविराममा लेबनान समावेश थियो कि थिएन भन्ने विषयमा विभिन्न धारणा आएका थिए । 

इरानी पक्षले समावेश भएको दाबी गरे पनि अमेरिका र इजरायलले त्यसलाई अस्वीकार गरेका थिए ।

मार्च २ यता इजरायली आक्रमणमा लेबनानमा २,१०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ७,००० भन्दा बढी घाइते भएका छन् । मृतकमध्ये सयौँ महिला र बालबालिका रहेका छन् ।

युद्धका क्रममा स्वास्थ्यकर्मीहरू पनि प्रभावित भएका छन् भने अस्पताल र एम्बुलेन्सजस्ता संरचनामा समेत आक्रमण भएका छन् । साथै, हजारौँ भवन ध्वस्त भएका छन् ।

उता, हिजबुल्लाहका आक्रमणबाट इजरायलमा सर्वसाधारण र सैनिक दुवैतर्फ क्षति पुगेको छ ।

बिहीबार इजरायली सेनाले दक्षिण लेबनानलाई देशका अन्य भागसँग जोड्ने अन्तिम पुल ध्वस्त पारेको छ । 

यसले उक्त क्षेत्र अझ अलग पार्नुका साथै दीर्घकालीन सैन्य उपस्थिति रहने चिन्ता समेत बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्