
इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविराम अवधिभर हर्मुज जलडमरूमध्य खुला रहने बताएका छन् ।
अराघचीले बाँकी रहेको युद्धविराम अवधिभर हर्मुज जलमार्ग पूर्णरूपमा खुला रहने घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उनले भनेका छन्, 'लेबनानमा भएको युद्धविरामसँगै हर्मुज जलमार्ग हुँदै जाने सबै व्यावसायिक जहाजहरूको आवतजावत बाँकी युद्धविराम अवधिभर पूर्णरूपमा खुला गरिएको छ। यो मार्ग इस्लामिक गणतन्त्र इरानको पोर्ट्स एन्ड मेरीटाइम अर्गनाइजेशनले पहिले नै घोषणा गरेको समन्वित मार्गअनुसार हुनेछ।'
यसै हप्ताको सुरुमा संयुक्त राज्य अमेरिकाले हर्मुज जलमार्गमा नौसैनिक नाकाबन्दी शुरू गर्ने घोषणा गरेको थियो। फेब्रुअरीमा इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणको प्रतिक्रिया स्वरूप इरानले केही सातासम्म विश्वकै व्यस्त तेल ढुवानी मार्गलाई प्रभावकारी रूपमा बन्द गरेको थियो।
यस विषयमा अमेरिकाको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
दुई साताको इरान–संयुक्त राज्य अमेरिका युद्धविराम आगामी २२ अप्रिलमा समाप्त हुने तय गरिएको छ।