
गुल्मीको रिडीका रविलाल पन्थ एक परिचित दुग्ध उद्यमी हुन्। जिल्लाको छत्रकोट गाउँपालिका–४, दिगामका पन्थ गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल पवित्र तीर्थस्थल रिडी बजार (हाल रुरुक्षेत्र गाउँपालिका–१) मा १० वर्षअघि दैनिक २० लिटर दूध बिक्री गर्थे । हाल उनले दैनिक १ हजार लिटरभन्दा बढी दूध संकलन मात्र गर्दैनन्, प्रशोधनसहितको चिस्यान केन्द्र (कोल्ड स्टोरेज) समेत सञ्चालन गर्छन्। दूध प्रशोधन गरी विभिन्न परिकारका साथ उनले मुलुकका प्रमुख शहरहरूमा उत्पादन पठाइरहेका छन्।
पन्थको 'गौरव दुग्ध डेरी उद्योग'ले उनलाई सफल मात्र बनाएको छैन, देशभर एउटा पहिचानसमेत दिलाएको छ। 'वैदेशिक रोजगारीका लागि दक्षिण कोरियाबाट फर्किएर सानो डेरी व्यवसाय शुरू गरेको हुँ,' उद्यमी पन्थ भन्छन्, 'दूध बेच्दाबेच्दै उद्योग नै सञ्चालन गर्ने आँट र साहस आयो। शुरूमा दूध चिस्यान केन्द्र स्थापना गरेँ, त्यसपछि क्रमशः दूधका परिकार उत्पादन गर्दै बजार विस्तार गर्ने योजना बनाएँ। त्यसमा सफलता पनि मिल्दै गयो।'
दुग्ध व्यवसायमार्फत स्वदेशमै आत्मनिर्भर बनेका पन्थले धेरैलाई रोजगारीसमेत दिएका छन्। ५ लाख रुपैयाँबाट शुरू गरेको व्यवसायमा अहिले १ करोड रुपैयाँभन्दा बढी लगानी पुगेको छ। उद्योगमा अहिले वार्षिक करिब १ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको उनी बताउँछन्।
पन्थ सन् २००९ मा वैदेशिक रोजगारीका लागि कोरिया पुगेका थिए। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने पहिलो समूह (ब्याच) अन्तर्गत ५ वर्ष त्यहाँका विभिन्न क्षेत्रमा उनले काम गरे। किसानका छोरा पन्थले त्यहाँ काम गर्दा धेरै सीप सिके र अन्ततः आफ्नै कर्मभूमिमा रमाउनुपर्छ भन्ने सोचमा पुगे। ५ वर्षको बसाईपछि २०७२ सालमा स्वदेश फर्किएर उनले आफ्नै गाउँमा डेरी व्यवसाय शुरू गरे। कोरियामा सिकेको सीप र उनको गौरव डेरी उद्योग अहिले धेरैका लागि सिकाइ केन्द्र बनेको छ।
उद्योगमा अहिले दूध, दही, पनिर, केक, आइसक्रिम, कुल्फी, घिउ, छुर्पी र कुराउनी उत्पादन तथा बिक्री गरिन्छ। 'किसानको दूध संकलन गरेर बजारको ग्यारेन्टी गरिदिएको छु,' उनी भन्छन्, 'यसले गर्दा किसानहरू दुग्ध उत्पादनमा आकर्षित भएका छन्। उद्योग र ढुवानीमा गरी १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा १०० भन्दा बढी किसान जोडिएका छन्।'

उनले अहिले सम्पूर्ण खर्च कटाएर मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। 'आफ्नै गाउँघरको हावापानी र समाजमा बसेर मासिक एक/डेढ लाख रुपैयाँ इज्जतका साथ कमाउन पाउँदा खुसी छु। विदेशबाट फर्केपछि त्यहाँको सीपलाई आफ्नै माटोमा सिर्जनाका रूपमा विकास गर्नुपर्छ,' उनी उत्साहित हुँदै भन्छन्।
उद्योग सञ्चालनको प्रारम्भिक चरणमा केही उतारचढाव आए पनि उनी विचलित भएनन्। कोरिया जानुअघि उनले काठमाडौंमा केही वर्ष क्यान्टिन र होटल सञ्चालन गरेका थिए, तर त्यसमा सन्तुष्टि नमिलेपछि उनी विदेशिएका थिए।

उनको उद्योगमा छत्रकोट, सत्यवती र पाल्पाको तानसेनबाट दूध आउने गर्छ। उनले किसानलाई सरकारले तोकेको उचित मूल्य प्रदान गरेका छन्, जसबाट उत्पादक किसानहरू पनि सन्तुष्ट छन्। संकलित दूध स्थानीय बजारका साथै पाल्पा, बागलुङ, स्याङ्जा र बुटवलसम्म पुग्छ।
रिडीमा शव दाहसंस्कारका लागि मानिसहरूको आउजाउ बढी हुने भएकाले दहीको खपत उच्च रहेको पन्थको अनुभव छ। 'अहिले आफ्नै जन्मभूमिमा सन्तुष्ट छु,' उनी भन्छन्, 'विदेशमा पैसा कमाए पनि स्वाभिमान हुँदैन, तर स्वदेशमा थोरै कमाउँदा पनि आत्मसम्मान मिल्छ। कोरियामा पसिना बगाएर कमाएको पैसा सही ठाउँमा लगानी गरेको हुँ।'
जिन्दगीमा सिर्जनशील बन्न सके हरेक क्षण उत्सवमय हुने उनको बुझाइ छ। शुरूका दिनमा 'गाउँमा पनि पनिरको तरकारी हुन्छ र?' भन्दै आश्चर्य मान्नेहरूलाई उनले सित्तैमा पनिर चखाएर बानी पारेका थिए।

नेपाली युवाहरू विदेशमा पसिना बगाउनुको साटो स्वदेशमै कृषि कर्मलाई व्यावसायिक बनाउनुपर्ने उनको सुझाव छ। 'मेहनत गर्नेहरू कहिल्यै हार्दैनन्। गाउँमा किसानी गरेर पनि सम्मान पाउन सकिन्छ,' उनी भन्छन्।
पन्थले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट 'राष्ट्रिय उद्यमी पुरस्कार' प्राप्त गरिसकेका छन्। साथै सत्यवती गाउँपालिका र रिटर्नी फेडेरेसनबाट पनि उनी उत्कृष्ट कृषि उद्यमीका रूपमा सम्मानित भएका छन्। 'पैसाका लागि विदेशमा भौँतारिनुभन्दा युवा पुस्ताले देशमै केही गर्नुपर्छ। यहाँ अवसर र पैसा दुवै छ, मात्र खाँचो सपना र इच्छाशक्तिको छ,' पन्थले निष्कर्ष सुनाए।