
इरान र इजरायलबीच प्रत्यक्ष सैन्य मुठभेड चर्किएकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ।
ह्वाइट हाउसले दुई नेताबीचको यो संवादको औपचारिक पुष्टि गरेको छ ।
ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई फोन गरी इरान र इजरायलबीच भइरहेको पछिल्लो 'फायर एक्सचेन्ज' का विषयमा गम्भीर छलफल गरेका छन्। यद्यपि, वार्ताको पूर्ण विवरण र त्यहाँ भएका सम्झौताहरूका बारेमा ह्वाइट हाउसले थप आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
यसअघि इजरायलको प्रमुख सञ्चारमाध्यम 'च्यानल १२' ले एक वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै इजरायलले इरानमाथिको आक्रमण रोक्न तयार भएको दाबी गरेको थियो। रिपोर्टका अनुसार राष्ट्रपति ट्रम्पको प्रत्यक्ष अनुरोध पछि इजरायलले इरानमाथि थप सैन्य कारबाही अगाडि नबढाउने निर्णय लिएको हो। ट्रम्पले यसअघि नै सार्वजनिक रूपमा दुवै देशलाई तत्काल गोलाबारी बन्द गर्न र तत्काल युद्धविरामतर्फ लाग्न आग्रह गरिसकेका थिए।
गत आइतबार इरानले इजरायलमाथि मिसाइल वर्षा गरेपछि इजरायलले पनि इरानका रणनीतिक सैन्य र औद्योगिक क्षेत्रहरूमा हवाई हमला गरेको थियो। यसले दुई देशबीच पूर्णस्तरको युद्ध सुरु हुने खतरा बढेको थियो। तर, ट्रम्पको सक्रिय कुटनीतिक अग्रसरतापछि दुवै पक्ष केही नरम देखिएका छन्।