
इरानले आफ्ना बन्दरगाहमाथि जारी अमेरिकी नाकाबन्दीका कारण फेरि होर्मुज जलडमरू बन्द गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
इरानी सेनाले अमेरिकी नाकाबन्दी कायम रहेकाले त्यसको प्रतिकारस्वरूप होर्मुज जलडमरू बन्द गर्ने निर्णय गरेको बताइएको छ ।
यसअघि शुक्रबार इरानका विदेशमन्त्रीले युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि होर्मुज जलडमरूमध्य ‘पूर्ण रूपमा खुला’ रहने बताएका थिए ।
त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलडमरू ‘पूर्ण रूपमा खुला र व्यापारका लागि तयार’ रहेको बताएका थिए ।
तर उनले शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी जारी रहने पनि उल्लेख गरेका थिए ।
वासिङ्टन र तेहरानबाट आएका परस्पर विरोधाभासी अभिव्यक्तिका कारण अवस्था अन्योलपूर्ण बनेको बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लाइसे डुसेले उल्लेख गरेकी छन् ।
जहाज ट्र्याकिङ वेबसाइट मरीन ट्राफिकका तथ्यांकअनुसार शनिबार केही ट्यांकरहरू उक्त जलमार्ग पार गरेका देखिएका छन् ।
यसैबीच, ट्रम्पले इरानले ‘सबै कुरामा सहमति जनाइसकेको’, जसमा समृद्ध युरेनियम अमेरिकामा हटाउने विषयसमेत रहेको दाबी गरेका छन् । तर इरानले उक्त दाबी अस्वीकार गरेको छ।
मरीन ट्राफिकको पछिल्लो तथ्यांकअनुसार होर्मुज जलडमरू पुनः बन्द गरिएको जानकारी दिएको केही समयपछि धेरै जहाजहरूले आफ्नो मार्ग परिवर्तन गरेका छन् ।
‘मिनर्भा एभ्रोपी’ नामक एउटा जहाजले आफ्नो यात्रा दिशा परिवर्तन गर्दै फर्किएको देखिएको छ ।
२४ घण्टामा होर्मुज जलडमरूबारे परस्पर विरोधाभासी घोषणाको श्रृंखला :
पछिल्ला २४ घण्टामा अमेरिका र इरानबाट होर्मुज जलडमरूबारे आएका ठूला तर प्रायः विरोधाभासी सन्देशहरूले अवस्था जटिल बनाएको छ।
यस अवधिमा घटनाक्रम यसरी अघि बढ्योः
इरानी विदेशमन्त्रीको घोषणा
शुक्रबार करिब १३:०० जीएमटी (१४:०० बीएसटी)मा इरानका विदेशमन्त्री अब्बास अराघचीले एक्समार्फत होर्मुज जलडमरू युद्धविराम अवधिभर ‘पूर्ण रूपमा खुला’ रहने घोषणा गरेका थिए ।
ट्रम्पको प्रतिक्रिया
केही मिनेटमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा ‘धन्यवाद’ भन्दै प्रतिक्रिया दिएका थिए । तर उनले इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न नभएसम्म अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहने बताएका थिए ।
बेलायत–फ्रान्सको संयुक्त पहल
बेलायती प्रधानमन्त्री कीर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले ४० देशसँगको भर्चुअल बैठकपछि ‘उपयुक्त अवस्था आएपछि’ जलमार्गमा आवागमन स्वतन्त्रता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मिसन सञ्चालन गर्ने घोषणा गरेका थिए ।
इरानी संसद् अध्यक्षको प्रतिक्रिया
केही घण्टापछि, २२:१४ जीएमटीमा इरानी संसद्का सभामुख मोहम्मद बाकेर गालिबाफले ट्रम्पले ‘एक घण्टामा सात वटा झूटा दाबी’ गरेको आरोप लगाए । उनले अमेरिकी नाकाबन्दी जारी रहेसम्म जलडमरू खुला नरहने स्पष्ट पारे ।
जहाज आवागमन जारी
यसबीच जहाज ट्र्याकिङ साइट मरीन ट्राफिकको तथ्यांकअनुसार शनिबार केही जहाजहरू उक्त जलमार्ग पार गरिरहेका देखिएका थिए ।
इरानी सेनाको नयाँ घोषणा
करिब ०८:३० जीएमटीतिर इरानी सेनाले पुनः होर्मुज जलडमरू नियन्त्रणमा लिएको र बन्द गरेको जनाएको राज्य सञ्चारमाध्यमले उल्लेख गरेको छ । त्यसपछि मरीन ट्राफिकको तथ्यांकमा केही जहाजहरू आफ्नो मार्ग परिवर्तन गरी फर्किएको देखिएको छ ।