०४ साउन २०८३, सोमबार
कांग्रेस विवाद

पूर्णबहादुरले गर्दैछन् १४ औं महाधिवेशनका पदाधिकारीसँग छलफल

बैशाख ६, २०८३
काठमाडौं
पूर्णबहादुरले गर्दैछन् १४ औं महाधिवेशनका पदाधिकारीसँग छलफल

नेपाली कांग्रेसको देउवा समूहले आज आइतबार १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारीसँग छलफल गर्दैछ ।

शनिबार काठमाडौं उपलब्ध शीर्ष नेताहरूसँग छलफल गरेको यो समूहले आइतबार उपत्यकामा उपलब्ध १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारी र पूर्व केन्द्रीय सदस्यसँग छलफल गर्न लागेको हो ।

छलफलको अगुवाइ पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । शनिबारको छलफल उनकै निवासमा भएको थियो ।

आइतबार भने धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजेका लागि छलफल तय भएको खड्काको सचिवालयले जनाएको छ । 

शनिबारको छलफलमा यो समूहले अदालतको फैसला मानेर अघि बढ्ने र पार्टीभित्रको राजनीतिक लडाइँ जारी राख्ने निष्कर्ष निकालेको छ । 

‘फैसलामा असन्तुष्टिका पर्याप्त आधार हुँदाहुँदै पनि, फैसलाले आधार मानेका विभिन्न विषयहरू विरोधाभासपूर्ण र विवादास्पद हुँदा हुँदै पनि त्यो फैसलालाई स्वीकार गर्ने कुरा आज छलफल भएको छ’, छलफलपछि नेता मीन विश्वकर्माले भनेका थिए, ‘हिजोदेखि उहाँ (पूर्णबहादुर खड्का) निवर्तमान कार्यवाहक सभापति हुनुभयो । त्यसलाई हामीले स्वीकार गरेका छौं । अब कानूनी विषय टुंगियो । वैधानिकताको विषय टुंगियो । तर अब राजनीतिक विषय भनेको पार्टी एकताको विषय हो । त्यसैले पार्टी एकताका विषयमा निरन्तर चिन्ता भइराखेको छ । अदालतको फैसला मानेर अघि बढ्छौं ।’

विश्वकर्माले अब पार्टीलाई मिलाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापति गगन थापाको काँधमा रहेको बताएका छन् ।

खड्काको निवासमा बसेको देउवा पक्षीय नेताहरूको शनिबारको अनौपचारिक बैठकले अदालतको निर्णयलाई सम्मान गर्दै आगामी दिनमा पार्टी एकताका लागि अघि बढ्ने निर्णय गरेको छ ।

बैठकपछि नेता  विश्वकर्माले पार्टीभित्रको कानूनी लडाइँ अब समाप्त भएको र राजनीतिक सहमतिको अध्याय शुरू भएको बताए । 

बैठकले अब पार्टीलाई भावनात्मक रूपमा जोड्नका लागि निरन्तर संवाद गर्ने निष्कर्ष निकालेको छ । नेता विश्वकर्माका अनुसार देउवा पक्ष अब पार्टीलाई ठूलो र बलियो बनाउनका लागि नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार छ । 

उनले भने, ‘हामी अब निरन्तर छलफलमा बस्छौँ । देशभरका साथीहरूको सुझाव सुन्छौँ । पार्टी फुटेर होइन, जुटेरै चुनावमा जानुपर्छ भन्नेमा हामी प्रष्ट छौँ ।’

salt training

कमेन्ट गर्नुहोस्