
जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिल २०२५ मा भएको भीषण आक्रमणको एक वर्ष पूरा हुँदैछ । यस अवसरमा उक्त घटनाले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
आक्रमणमा एक नेपालीसहित २६ जना निर्दोष पर्यटकलाई धर्मका आधारमा छुट्याएर निर्ममतापूर्वक हत्या गरिएको थियो, जसलाई योजनाबद्ध र अत्यन्त क्रूर घटनाका रूपमा लिने गरिएको छ ।
उक्त आक्रमणको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले लिएको थियो ।
टीआरएफलाई पाकिस्तान समर्थित आतंकवादी संगठन मानिन्छ र यो ‘लश्कर–ए–तैयबा’ (एलईटी) को सहायक संरचना हो । अमेरिकाले समेत यसलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सूचीमा समावेश गरेको छ ।
विश्लेषकहरूका अनुसार, जम्मु–कश्मीरमा सफल निर्वाचन सम्पन्न भई आर्थिक विकास र स्थायित्वतर्फ अग्रसर भइरहेका बेला गरिएको यो आक्रमणले त्यहाँको सकारात्मक प्रगतिमा अवरोध पुर्याउने उद्देश्य राखेको देखिएको थियो ।
घटनामा संलग्न तीन पाकिस्तानी सन्दिग्ध २८ जुलाई २०२५ मा श्रीनगरनजिकै मारिएका थिए ।
उनीहरूको पहिचान खुल्दा एक जना हबीब ताहिर पाकिस्तान नियन्त्रित कश्मीरको कोइयान गाउँका बासिन्दा रहेको पुष्टि भएको थियो भने अर्का व्यक्ति बिलाल अफजल रहेको खुलेको थियो ।
यसले आक्रमणमा पाकिस्तानको संलग्नताको आशंका उब्जाएको भारतीय मिडियाहरूले उल्लेख गरेका थिए ।
पछिल्लो समय आतंकवादी गतिविधिमा नयाँ प्रवृत्तिहरू देखिएका छन् ।
सुरक्षासम्बन्धी निकायहरूका अनुसार आतंकवादी वित्तपोषण डिजिटल वालेट र क्रिप्टोकरन्सीमार्फत गोप्य रूपमा सञ्चालन हुन थालेको छ, जसले निगरानी कार्यलाई झन् जटिल बनाएको छ ।
यसैबीच, पाकिस्तानमा विभिन्न आतंकवादी समूहहरू पुनः सक्रिय हुने संकेत देखिएका छन् ।
‘जैश–ए–मोहम्मद’ले ‘जमात–उल–मोमिनात’ नामक महिला विंग स्थापना गरी भर्ना विस्तार गरिरहेको छ भने एलईटीले तालिम प्रणाली विस्तार गर्दै ‘वाटर विंग’मार्फत समुद्री रणनीतिक तालिम दिन थालेको जनाइएको छ । विदेशमा समेत भारतविरुद्ध लक्षित घृणात्मक अभिव्यक्ति, भेला र प्रशिक्षण जारी रहेको विभिन्न प्रतिवेदनहरूमा उल्लेख छ ।
यसले अन्तर्राष्ट्रिय स्तरमा पनि पाकिस्तानको भूमिकामाथि प्रश्न उठ्दै आएको भारतीय विश्लेषकहरू बताउँछन् । सन् २०२६ को ग्लोबल टेरोरिज्म इन्डेक्समा पाकिस्तान उच्च स्थानमा रहेको छ भने कंग्रेसनल रिसर्च सर्भिसको २५ मार्च २०२६ को प्रतिवेदनले पाकिस्तानलाई सक्रिय आतंकवादी समूहहरूको आधारस्थलका रूपमा चित्रित गरेको छ ।
हालै, पाकिस्तानी नागरिक आसिफ मर्चेन्ट अमेरिकी राजनीतिज्ञहरूको हत्या योजनामा दोषी ठहर भएका छन् भने मुहम्मद शाहजेब खानले न्यूयोर्कस्थित यहूदी केन्द्रमा आक्रमण प्रयास स्वीकार गरेका छन् । साथै, दक्षिण कोरियामा गैरकानूनी रूपमा प्रवेश गरेको आरोपमा एलईटीसँग सम्बन्धित एक पाकिस्तानी नागरिक पक्राउ परेको परेका थिए ।
यी घटनाक्रमहरूले पाकिस्तानको भूमिकासम्बन्धमा प्रश्न उठेको भारतीय विश्लेषकहरूको तर्क छ । दक्षिण एसिया मात्र होइन, समग्र विश्व समुदायका लागि समेत यो गम्भीर सुरक्षा चुनौतीका रूपमा अगाडि आएको ती विश्लेषकहरू बताउँछन् ।