
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्थालाई निरन्तरता दिँदै प्रतिनिधिसभा नियमावली तयार भएको छ ।
रास्वपा सांसद गणेश पराजुलीको संयोजकत्वमा बनेको नियमावली मस्यौदा समितिले मंगलबार आफ्नो प्रतिवेदन सभामुख डोलप्रसाद (डीपी) अर्याललाई बुझाएको छ ।
प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
नियमावलीको नियम ५६ मा सांसदसँग प्रश्नोत्तरको व्यवस्था गरिएको हो । नियमावली पारित भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सांसदका प्रश्नको जवाफ दिनु पर्नेछ ।
नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्ने व्यवस्था गरिएको छ । संसदीय व्यवस्थामा महत्त्वपूर्ण मानिने प्रश्नोत्तरको व्यवस्था विगतमा पनि गरिएको थियो ।
प्रतिनिधिसभा नियमावलीमा मन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था पनि गरिएको छ । प्रत्येक दिनको बैठकको एक घण्टा मन्त्रीसँगको प्रश्नोत्तरका लागि छुट्याइने नियम ४१ मा व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा बैठकबाट पारित भएपछि नियमावली कार्यान्वयनमा आउने छ ।
नियमावली नबन्दासम्म यसअघिको नियमावलीलाई अन्तरिम नियमावली मानेर प्रतिनिधिसभाको बैठक सञ्चालन भएको थियो ।