एउटा अडियो काण्ड बाहिरिएपछि मधेश प्रदेश प्रहरी कार्यालय र मातहतका युनिटमा आन्तरिक द्वन्द्व शुरू भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले घुमुवा परिचालन गरेर व्यापारीबाट पैसा असुलेको अडियो बाहिर आएसँगै यो विवाद उत्कर्षमा पुगेको हो ।
डीआईजी थपलियालाई बदनाम गरेको भन्दै शुरूमा प्रहरी चौकी जनकपुरधामका इन्चार्ज वरिष्ठ सई सागर राणालाई जिल्ला प्रहरी कार्यालय धनुषामै फिर्ता गराइयो । जिल्लामा गएपछि पनि डीआईजीको चियोचर्चो गरेको भन्दै राणालाई मधेश प्रदेश प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरियो ।
आफूमाथि लगातार सोधपुछ हुन थालेपछि राणाले व्यापारी राजीव महासेठलाई फोन गरे । फोन संवाद लीक भयो । संवादमा डीआईजी थपलियाले घुमुवा परिचालन गरेर महासेठमार्फत पैसा असुलेको विषय उल्लेख थियो । भिडियो लिक हुनेबित्तिकै डीआईजी कार्यालयले विज्ञप्ति नै जारी गरेर वरिष्ठ सई राणालाई निलम्बनको प्रक्रिया शुरू गरेको विषय बाहिर ल्यायो ।
सञ्चारमाध्यममा छ्यापछ्याप्ती अडिओ बाहिरिएसँगै प्रहरी प्रधान कार्यालयले वरिष्ठ सईद्वय राणा र गोपाल थापा मगर तथा सई जयलाल यादवलाई मुख्यालयमा हाजिर हुन भनेको छ ।
प्रहरी मुख्यालयको उजुरी छानबिन महाशाखाले तीनजनालाई सोधपुछका लागि भन्दै हाजिर हुन भनेको हो ।
यो घटना मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीबीचको हो ।
डीआईजी थपलियाको कार्यालयमा सादा पोशाकमा खटिएका वरिष्ठ सई गोपाल थापा मगरले मातहतका प्रहरी कर्मचारीलाई हैरानी दिएको गुनासो प्रहरी मुख्यालयमा पुगेको हो ।
आफूभन्दा उपल्लो दर्जाका प्रहरी कर्मचारीलाई मधेश प्रदेश प्रहरी कार्यालयमा बोलाएर उभ्याउँदै सोधपुछ गरेपछि जिल्लाका एसपीले समेत प्रहरी प्रधान कार्यालयमा गुनासो गरेका थिए । डीआईजीको बलमा वरिष्ठ सई थापा मगरले मनपरि गरेको आरोप छ ।
त्यसो त अहिले पनि मधेश प्रदेशमा घुमुवाको रूपमा होस् वा सीमावर्ती चौकी इञ्चार्ज जान तँछाडमँछाड हुन्छ । ठेकेदार, व्यवसायी र तस्करसँगको साँठगाँठमा पैसा असुल्ने गरेको आरोप प्रहरीलाई लाग्दै आएको छ ।
राष्ट्रसेवक प्रहरीले पैसा असुलेपछि सानादेखि ठूला तस्करहरूले धमाधम आफ्नो धन्दा चलाउँदै आएको आरोप पनि छ ।
प्रदेशका आठ जिल्ला मात्र नभई मातहत रहेका कार्यालयहरूबाट पहिले सिभिलमा बसेका तथा हाल सिभिलमा कार्यरत कर्मचारीहरूलाई डीआईजीको आदेश भन्दै तान्ने काम भइरहेको छ ।
कार्यक्षेत्रमा खटिएका प्रहरीको आचरण सुधारका लागि कार्यालयमा तानेर आन्तरिक छानबिनको विषयलाई डीआईजी थपलियासँग जोडेर अनर्गल प्रचार गरेको दाबी मधेश प्रदेश प्रहरी कार्यालयको छ ।
यो घटनाक्रमले मधेस प्रदेशका प्रहरी कर्मचारीमा आक्रोश र असन्तुष्टि पैदा गरेको छ ।
घुमुवा कमान्डरको भूमिकाले सिभिल कर्मचारीमाथि असमान अधिकारको प्रयोग गर्दा प्रदेश प्रहरीको इमेजमा नकारात्मक असर परेको भन्दै जिल्लाका एसपीहरूले डीआईजी थपलियालाई ध्यानाकर्षण गराइसकेका छन् ।
अर्कोतर्फ जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम कुँवरलाई पनि डीआईजी थपलियाले स्पष्टीकरण सोधेका छन् । डीआईजीले लाइन खोल्न दिएको निर्देशन नमान्दा उल्टै एसपी कुँवरलाई स्पष्टीकरण सोधेको चर्चा अहिले धनुषा प्रहरी वृत्तमा छ।
तर, यसलाई डीआईजी थपलिया ठाडै इन्कार गर्छन् । उनले भनेका छन्, ‘कार्यशैलीमा प्रश्न उठेपछि स्पष्टीकरण सोधिएको हो, बाहिर आएको अडियो बनाइएको हो, मैले कसैसँग नजराना लिएको छैन ।’
प्रहरी प्रशासनमा घुमुवा (सादा पोशाकका प्रहरी) प्रणाली आवश्यक छ । घुमुवालाई सूचना संकलनका लागि राखिएको हो । तर, त्यसलाई दुरुपयोग गर्दै मासिक रकम असुलीका लागि उपयोग गर्दा प्रहरी संगठन नै बदनाम हुँदै आएको छ । यसलाई सुधार्न तत्काल कदम उठाउन आवश्यक रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
गत वर्ष पुस १३ देखि हालसम्म एक सय ८७ जना लाई मधेश प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि प्रदेशमा झिकाएको देखिन्छ । त्यसमा प्रहरी जवानदेखि वरिष्ठ सईसम्म छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा दरबन्दी भएका वरिष्ठ सई धर्मेन्द्र कुमार झा ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत थिए । कार्यशैलीमा प्रश्न उठेपछि उनलाई मधेश प्रदेश प्रहरी कार्यालयमा झिकाइयो । आन्तरिक छानबिनपछि झालाई मधेश प्रदेश प्रहरी गणमा हाजिर हुन पठाइयो ।
मकवानपुरस्थित प्रहरी चौकी ठूलोदमार दरबन्दी भएका असई रामेश्वरप्रसाद यादव जिल्ला प्रहरी कार्यालय धनुषामा काजमा काम गरिरहेका थिए ।
उनको पनि कार्यशैली राम्रो नभएको गुनासो आएपछि प्रदेश प्रहरी कार्यालयमा झिकाइयो । आन्तरिक छानबिन गरेर यादवलाई एक महिनापछि सम्बन्धित कार्यालयमा फिर्ता पठाइयो ।
पछिल्लोपटक वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय धनुषा मातहत रहेका ६ जनालाई मधेश प्रदेश प्रहरी कार्यालयमा तानेर आन्तरिक छानबिन भइरहेको छ ।
प्रहरी हबल्दार प्रमोदकुमार यादव, सुरेन्द्र लामा, प्रहरी सहायक हवल्दार शशिरजन पाण्डेय, प्रहरी जवान राजु पासवान, विदुर मग्राती सार्की र रोशनकुमार यादवको कार्यशैलीमा प्रश्न उठेपछि छानबिनका लागि भन्दै मधेश प्रदेश प्रहरी कार्यालयमा तानिएको हो । उनीहरूमाथि अहिले पनि आन्तरिक छानबिन भइरहेको छ ।
गत मंसिरदेखि हालसम्म छानबिनमा तानिएका एक सय ८७ जना प्रहरी कर्मचारीको गलत आचरणलाई सुधार गर्न र चेतावनी दिन मधेश प्रदेश प्रहरी कार्यालयमा तानिए पनि उनीहरू मधेश प्रदेशकै एक जिल्लाबाट अर्को जिल्लामा पुगेका छन् ।
प्रहरीको कार्यशैली अझै सुधारिएको छैन । तस्करी नियन्त्रण भएको छैन । भ्रष्टाचार शून्य सहनशीलता मूल नारा बोकेको बालेन शाह नेतृत्वको सरकारको कामको स्पिरिट एकातिर छ । तर, मधेश प्रदेश प्रहरीमा रमिता चलिरहेको छ । अब पनि नसुध्रिए कहिले सुध्रिने ?
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्तरिक छानबिनका लागि विवादमा आएका प्रहरीलाई प्रहरी प्रधान कार्यालयमा झिकाइने बताए ।
उनले लोकान्तरसँग भने, ‘प्रश्न उठेका छन्, त्यसको निवारण गर्न पनि आन्तरिक छानबिन अनिवार्य छ, हामी छानबिन गर्छौं ।’
हेर्नुहोस्, भिडियो :