
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल विजयी भएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै नेपाल विजयी भएको हो । जितका लागि एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।
कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दुई खेलको सिरिज बराबरी गरेको हो । नेपाल पहिलो खेलमा सोमबार डीएल मेथडमा ६ विकेटले पराजित भएको थियो ।
पहिलो खेलमा बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्यो ।
यूएईले दिएको लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल ८४ र कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे ।
कुशलले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गरे । उनले ३१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
दीपेन्द्र १७ बलमा ३ चौका सहयोगमा २३ रनमा अविजित रहे । त्यस्तै, १७ बलमा १ चौका र २ छक्का बनाएका कुशल मल्ल १९ रन बनाउँदा मुहम्मद अफरानको बलमा मुहम्मद वसिमको हातबाट क्याच आउट भए । सन्तोष यादव १ रनमा पेभेलियन फर्के ।
त्यसअघि यूएईलाई ठूलो योगफल बनाउनबाट रोक्ने क्रममा नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । उनले १९ औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिए ।
मध्यमतेज गतिका बलर हेमन्त धामीले पनि दुई विकेट हात पारे । उनले आफ्नो खेलजीवनको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलेका हुन् ।
२० वर्षीय धामीले यूएईका कप्तान एवम् ओपनर ब्याट्सम्यान मुहम्मद वसिमलाई आफ्नो पहिलो सिकार बनाए । उनले मुहम्मद वसिमलाई एलबीडब्लूको धरापमा पारे ।
धामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको यो पहिलो विकेट हो । उनले पहिलो ओभरको पहिलो बलमै यूएईका कप्तानलाई पेभेलियन फर्काएका थिए ।
त्यसपछि उनले यूएईका हरप्रित सिंहको विकेट लिए । उनले हरप्रितलाई पनि एलबीडब्लूकै धरामा पारे । नन्दन यादव र साहब आलमले पनि एक–एक विकेट कुम्ल्याए ।
यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रनको योगदान गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान नाथले ४२ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काए ।
भ्रमणकारी टोलीका लागि ओपनर ब्याट्सम्यान अदिब उस्मानीले पनि ३० रन जोडे । आठौँ नम्बरमा क्रिज समाल्न आएका मुहम्मद अरफानले ३२ रन बनाए ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म कुल १२ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा नेपाल र ६ खेलमा यूएई विजयी भएका छन् ।
कीर्तिपुर मैदानमा भने हालसम्म यी दुई टोलीबीच दुई खेल खेलिएको छ । कीर्तिपुर मैदानमा खेलिएको दुबै खेलमा नेपाली टोली यूएईसँग पराजित भएको छ ।
यो मैदानमा सबैभन्दा पहिले सन् २०२३ को अक्टोबर २७ तारिखमा यी दुई टोलीबीच भिडन्त भएको थियो । उक्त खेलमा यूएईले नेपाललाई चार विकेटले हराएको थियो ।
त्यसपछि सोमबार यही स्टेडियममा खेलिएको खेलमा पनि यूएईले नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ६ विकेटले हराएको थियो ।
नेपाली टोलीले घरेलु मैदानमा भने यूएईसँग हालसम्म पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलेको छ । बाँकी तीन खेल मूलपानी क्रिकेट मैदानमा खेलिएको हो ।