
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पछिल्लो खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई हराउँदा अभिषेक शर्माको नामसँग केही गतिला कीर्तिमान जोडिएका छन् ।
उक्त खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित ओभरमा दुई विकेट गुमाएर दुई सय ४२ रन बनाएको थियो ।
हैदराबादका लागि ओपनर ब्याट्सम्यान अभिषेकले उत्कृष्ट शतकीय पाली खेलेका थिए । उनले केवल ६८ बलमा १० छक्का र १० चौकाको मद्दतले अविजित एक सय ३५ रन बनाए ।
यो उत्कृष्ट पालीसँगै अभिषेकको नाममा केही कीर्तिमान जोडिन पुगेको हो । उनले बनाएको एक सय ३५ रन आईपीएलको इतिहासमा कुनै पनि खेलाडीले बनाएको पाँचौँ ठूलो रन हो ।
आईपीएलको इतिहासमा तेस्रो उच्च स्कोर बनाउने खेलाडी पनि अभिषेक नै हुन् । उनले अघिल्लो सिजनको आईपीएलमा पञ्जाब किङ्सविरुद्ध एक सय ४१ रनको पाली खेलेका थिए ।
यसैगरी, अभिषेक शर्माले विश्व क्रिकेटका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीको नाममा रहेको एउटा कीर्तिमानसँग बराबरी पनि गरेका छन् ।
विराटसँगै अभिषेक शर्मा भारतका लागि टी–२० क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका हुन् । विराट र अभिषेकले टी–२० क्रिकेटमा नौ/नौ वटा शतक बनाएका छन् ।
यसैगरी, अभिषेक शर्मा टी–२० क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा संयुक्त रूपमा चौथो स्थानमा उक्लिएका छन् ।
विराट र अभिषेकसँगै साहिबजादा फरहान, क्विन्टन डी काक र राइली रुसोले पनि नौ/नौ शतक बनाएका छन् ।