१६ असार २०८३, मंगलबार

अमेरिका-इरान युद्धको असर कण्डममा पनि, मूल्य बढाउने तयारीमा विश्वकै ठूलो उत्पादक

बैशाख ९, २०८३
काठमाडौं
अमेरिका-इरान युद्धको असर कण्डममा पनि, मूल्य बढाउने तयारीमा विश्वकै ठूलो उत्पादक

विश्वकै सबैभन्दा ठूलो कण्डम उत्पादक कम्पनी कारेक्सले इरानसँग सम्बन्धित युद्धका कारण कच्चा पदार्थ आपूर्तिमा अवरोध आएपछि कण्डमको मूल्य ३० प्रतिशतसम्म वा अझ बढी बढाउन सकिने जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोह मियाह कियातले सञ्चारमाध्यमसँग कुरा गर्दै द्वन्द्व शुरू भएयता उत्पादन लागत उल्लेख्य रूपमा बढेको बताएका छन् ।

मलेसियामा आधारित यस कम्पनीले वार्षिक पाँच अर्बभन्दा बढी कण्डम उत्पादन गर्दै ड्युरेक्स र ट्रोजनजस्ता विश्वप्रसिद्ध ब्रान्डलाई आपूर्ति गर्ने गर्दछ । साथै, बेलायतको एनएचएसजस्ता सरकारी स्वास्थ्य प्रणालीलाई समेत यसले सामग्री उपलब्ध गराउँदै आएको छ ।

इरानले अमेरिका र इजरायलको हवाई आक्रमणपछि होर्जुम जलडमरु हुँदै जाने जहाजलाई लक्षित गर्ने चेतावनी दिएपछि विश्वव्यापी तेल आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ । यसले उक्त समुद्री मार्ग लगभग बन्दजस्तै भएको र आपूर्ति शृंखलामा ठूलो असर परेको जनाइएको छ ।

विश्वको करिब २० प्रतिशत कच्चा तेल र द्रवीकृत प्राकृतिक ग्यास (एलएनजी) यही मार्गबाट ओसारपसार हुने गर्दछ। कण्डम उत्पादनमा प्रयोग हुने लेटेक्स जोगाउन आवश्यक अमोनिया र सिलिकनमा आधारित स्नेहक जस्ता पदार्थ तेलबाटै प्राप्त हुने भएकाले लागत बढेको कम्पनीले जनाएको छ ।

यस वर्ष कण्डमको माग करिब ३० प्रतिशतले बढेको छ भने ढुवानी लागत वृद्धि र ढिलाइले अभाव झन् बढाएको गोहले बताएका छन् ।

उनका अनुसार, अनिश्चितताका बेला मानिसहरू भविष्यप्रति सचेत हुने भएकाले कण्डमको प्रयोग अझ बढ्ने गर्छ । उनले थपे, ‘अहिले सन्तान जन्माए थप जिम्मेवारी बढ्छ ।’

इरान–अमेरिका–इजरायलबीचको द्वन्द्वले ऊर्जा बजार मात्रै होइन, उपभोक्ता सामग्रीको मूल्यमा पनि प्रभाव पारिरहेको देखिएको छ । यसकै प्रभावस्वरूप हवाई भाडा औसतमा २४ प्रतिशतले बढेको अध्ययनहरूले देखाएका छन् ।

त्यस्तै, खाडी क्षेत्र हुँदै हुने ढुवानीमा अवरोध आउँदा मलको मूल्य बढेको, हेलियमको अभाव देखिएको तथा बोतलमा पानी उत्पादन गर्ने उद्योग पनि कच्चा पदार्थ अभावका कारण दबाबमा परेको जनाइएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघले ढुवानी लागत बढेकै कारण चिनी, दुग्धजन्य पदार्थ र फलफूलको मूल्यसमेत बढ्ने चेतावनी दिएको थियो ।

उता, अमेरिका र इरानबीच शान्ति वार्ताको अवस्था अझै स्पष्ट छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता प्रगति नभएसम्म युद्धविराम अवधि लम्ब्याउने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्