
युरोपेली संघले युक्रेनका लागि ९० अर्ब युरो ऋण दिने तयारी गरेको छ । जसका लागि युरोपेली संघका राजदूतहरू साइप्रसमा बैठक बसिरहेका छन्, जहाँ लामो समयदेखि रोकिएको युक्रेनका लागि अत्यावश्यक मानिएको ९० अर्ब युरो ऋण अन्ततः स्वीकृत भई वितरण हुने अपेक्षा गरिएको छ ।
गत डिसेम्बरमा उक्त सहायता स्वीकृत भए पनि हंगेरीका नेता विक्टर ओर्बानले फेब्रुअरीमा भिटो लगाएपछि प्रक्रिया रोकिएको थियो । यो विवाद युक्रेन हुँदै आउने रूसी तेल आपूर्ति अवरुद्ध भएपछि उत्पन्न भएको थियो ।
युक्रेनले ‘द्रुज्बा’ नामक तेल पाइपलाइनको एक केन्द्र रूसी आक्रमणमा क्षतिग्रस्त भएको जनाएको थियो । तर ओर्बानले तेल आपूर्ति पुनः शुरू नभएसम्म ऋण स्वीकृत गर्न नसकिने अडान राखेका थिए ।
अब युक्रेनले पाइपलाइन मर्मत सम्पन्न भएको जानकारी दिएपछि गतिरोध अन्त्य हुने विश्वास युरोपेली संघले गरेको छ ।
गत आइतबार भएको निर्वाचनमा ओर्बान पराजित भएसँगै १६ वर्ष लामो उनको शासनकाल समाप्त भएको छ । हंगेरीका आगामी नेता पिटर म्याग्यारले युरोपेली संघसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिएका छन् ।
युरोपेली संघकी वैदेशिक नीतिप्रमुख काजा कालासले बैठकअघि भनिन्, ‘९० अर्ब युरो ऋणबारे सकारात्मक निर्णय हुने अपेक्षा छ । युक्रेनलाई यो अत्यन्त आवश्यक छ र यसले रूसले युक्रेनलाई पराजित गर्न नसक्ने सन्देश दिन्छ ।’
युक्रेनका उपप्रधानमन्त्री तारास काच्काले यो सहायता जीवन–मरणको प्रश्न भएको बताएका छन् । कूल रकममध्ये दुई तिहाइ रक्षा क्षेत्रमा र बाँकी आर्थिक सहयोगका रूपमा खर्च गरिनेछ ।
हंगेरीको ऊर्जा कम्पनी ‘मोल’ले युक्रेनी साझेदारबाट जानकारी पाएअनुसार रूसी तेल आपूर्ति बुधबारदेखि हंगेरी र स्लोभाकियातर्फ पुनः शुरू हुने जनाएको छ ।
अस्थायी रूपमा जिम्मेवारी सम्हालिरहेका ओर्बानले पनि पाइपलाइनमार्फत तेल आपूर्ति शुरू भएलगत्तै ऋण स्वीकृतिमा अवरोध नगर्ने बताएका छन् ।
निर्वाचनअघि उनले युक्रेनले आफ्नो देश र छिमेकी स्लोभाकियामाथि तेल नाकाबन्दी गरेको आरोप लगाएका थिए र युरोपेली संघले युक्रेनसँग मिलेर काम गरेको दाबी गरेका थिए ।
यसबीच युक्रेनले रूसभित्रका तेल पूर्वाधारमा पनि आक्रमण गरेको छ, जसमा सामारा क्षेत्रस्थित पाइपलाइनसँग सम्बन्धित पम्पिङ केन्द्र पनि पर्छ ।
ओर्बानले यसअघि भएको सम्झौता उल्ट्याएपछि युरोपेली संघका नेताहरू असन्तुष्ट बनेका थिए । यद्यपि हंगेरी, स्लोभाकिया र चेक गणतन्त्रलाई यस योजनाबाट अलग रहने सुविधा दिइएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेन र युरोपेली परिषद्का प्रमुख अन्तोनियो कोस्टासँग ऋण अवरोध हटाउने विषयमा छलफल गरेका थिए ।
जेलेन्स्कीले भने, ‘अब यसलाई रोक्ने कुनै कारण छैन । युरोपेली संघले पाइपलाइन मर्मत गर्न भनेको थियो, हामीले गरिसकेका छौं । अब उनीहरूले पनि आफ्नो प्रतिबद्धता पूरा गर्ने आशा छ ।’
यद्यपि ऋण स्वीकृत भए पनि रकम युक्रेन पुग्न अझ केही हप्ता लाग्न सक्ने युक्रेनी सञ्चारमाध्यमहरूले जनाएका छन् ।